काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको आयोजना तथा सन इन्फोटेकको संयोजकत्वमा आजेशुक्रबार झापाको दमकस्थित श्री ढुकुरपानी माध्यमिक विद्यालय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा सञचालन गरिएको कार्यक्रममा बैंकका नायब महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्यराखेका थिए। उनले एनसीसी बैंकका तर्फबाट हाल प्रदान भइरहेको निक्षेप, कर्जालगायत अन्य सेवाका बारेमा जानकारी दिनुका साथै समग्र बैंकिङ क्षेत्रका बारेमा प्रकाश पारेका थिए। उनले एनसीसी बैंकमा उपलब्ध भएका निक्षेप खाताका प्रकार, ब्याजदर, लगानीकर्तालाई प्रदान गरिने लाभांश, कर्जाका प्रकार, कर्जा लिनका लागि आवश्यक पर्ने योग्यताका बारेमा स्पष्ट पारेका थिए। 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पूर्वप्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले स्रोतव्यक्तिका रुपमा आफ्नो प्रस्तुति दिने क्रममा बैंकिङ कारोबारको प्रयोग बढाउनुपर्ने र यसका लागि बचत परिचालनमा जोड दिएका थिए। उनले व्यवसाय गर्न समुचित रुपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्ने तथ्यमा प्रकाश पारेका थिए। 

कार्यक्रमको अन्तमा सहभागीहरुले उठाएका जिज्ञासासँग सम्बन्धित अन्तरक्रिया समेत सम्पन्न गरिएको थियो। 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीलगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवीप्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्रकुमार ढकालको उस्थिति थियो।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३७ एटीएम बुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ।