काठमाण्डौ । सेयर बजार बुधबार पनि ओरालो लागेको छ। 

आज बजार ७.७२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२१.९९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७० अंकले घटेर ३७७.९० को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार दमोदर गजुरेल अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामै रहेको बताउँछन्। ‘चुनावी परिणामपछि सरकार कस्तो बन्ला भन्ने अन्यौलता लगानीकर्तामा देखिन्छ’, उनले भने। 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा पनि लगानीकर्ता रहेको गजुरेलको भनाइ छ। ‘यो हिसाबले अहिले लगानीकर्ताहरुले सेयर खरिद गरेर जम्मा गर्ने समय हो’, उनले भने।

प्राविधिक रुपमा बोलिंगर ब्यान्डको अप्पर ब्यान्डमा बजारले टेस्ट गरेको अवस्था रहेको गजुरेल बताउँछन्। ‘यसले पनि लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा रहेको प्रस्ट पार्छ’, उनले भने। 

अर्का बजार जानकार निमानन्द कँडेल बजार सकारात्मक नै हुने बताउँछन्। ‘चुनावी परिणाम आइरहँदा कुनै पनि पार्टी बहुमत नआउने देखिँदैन’, उनले भने, ‘त्यही भएर लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्।’

बजार केही समय साइडवेजमै चल्ने कँडेलको अनुमान छ। ‘यद्यपि खासै डराउनुपर्ने अवस्था छैन’, उनले भने।

लाभांशको पनि सिजन चलिरहेकोले बजार विस्तारै माथि नै जाने कँडेलको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.८ प्रतिशतले उकालो लागेको छ। व्यापार समूहमा पनि ०.२९ प्रतिशतको बढोत्तरी भएको छ। 

आज अन्य समूह सर्वाधिक ०.७८ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.५८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५० प्रतिशत, विकास बैंक समूहमा ०.०१ प्रतिशत, वित्त समूहमा ०.०९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१६ प्रतिशत, जलविद्युत समूहमा ०.५२ प्रतिशत, जीवन बीमा समूहमा ०.२६ प्रतिशत, लघुवित्त समूहमा ०.४१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३१ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.३२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका २८ लाख ३९ हजार ३७३ कित्ता सेयर १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५३ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल बैंकको सर्वाधिक १२ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ११ करोड ९ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिभिल बैंकको ६ करोड ८२ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ६ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको ३ करोड ४५ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३ करोड ७ लाख रुपैयाँ, मेगा बैंकको २ करोड ४८ लाख रुपैयाँ, एभरेस्ट बैंकको १ करोड ९९ लाख रुपैयाँ, घलेम्दी हाइड्रोको १ करोड ९८ लाख रुपैयाँ र नबिल बैंकको १ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन सिभिल बैंक र घलेम्दी हाइड्रोका सेयरधनीहरु मालामाल भए। सिभिल बैंकको सेयरमूल्यमा १० प्रतिशत र घलेम्दी हाइड्रोको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। 

आज स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।