काठमाण्डौ । जापानको निकै ठूलो मोटरकार कम्पनी मित्सुबिसीले इन्धन खर्चको बारेमा गलत दाबा गरेर भ्रम फैलाई ग्राहकलाई ठगेको कुरा स्वीकार गरेको छ । यस्तो झूठो दाबी गरेर यो कम्पनीले जापानमा ६ लाखभन्दा धेरै गाडीहरु बिक्री गरेको थियो । 

टायरमा हावाको दवाब बारे गलत जानकारी दिएर आफ्ना कर्मचारीहरुले गाडीको माइलेजको बिषयमा भ्रमपूर्ण प्रचार गरेका कम्पनीले स्वीकार गरेको छ । 

मित्सुबिसीले बिक्री गरेकामध्ये करिब ४ लाख ७० हजार गाडी निशान कम्पनीका लागि बनाएको थियो । निसान कम्पनीले नै यो गडबडी पत्ता लगाएको थियो । गल्ती स्वीकार गरेकै कारण जापानमा मित्सुबिसी कम्पनीको शेयर मूल्य १५ प्रतिशतले घटेको छ । 

बुधबार कम्पनीका अध्यक्ष टेटसुरो आइकावाले एक पत्रकार सम्मेलन गरी त्यहाँ आफ्नो शिर झुकाएर गल्ती स्वीकारेका थिए । उनले पत्रकार सम्मेलनमा भनेका छन्–‘गल्ती जानेरै गरिएको थियो । यो स्पष्ट भएको छ कि यो जालसाजी गाडीको माइलेजको विषयमा झूठो प्रचार गर्नका लागि भएको थियो । तर यस्तो धोखाधडीको साहारा किन लिइयो हालसम्म पत्ता लगाउन सकेका छैनौ ।’ 

उनले ग्राहकहरुलाई भ्रमको खेती गरेर गाडी बिकाउने धोकापूर्ण कामको विषयमा आफूलाई अहिले मात्र जानकारी भएको र यो विषयमा आफू पूर्ण अनभिज्ञ रहे पनि कमजोरीको पुष्टि भइसकेपछि यसको सबै जिम्मा आफूले लिने समेत बताए ।

गएको वर्ष यस्तै घटनामा जर्मनीको कार कम्पनी फक्सबेगन पनि फसेको थियो, त्यसबेला फक्सबेगनले निकै ठूलो घाटा व्यहोर्नु परेको थियो । 
(एजेन्सीको सहयोगमा भावानुवाद)