काठमाण्डौ । टर्कीको मुद्रास्फीति दर २० वर्षयताकै उच्च विन्दुमा पुगेको छ।

टर्कीको मुद्रा ‘लिरा’ निरन्तर कमजोर बन्दा र इन्धनको मूल्य उकालो लाग्दा त्यहाँको मुद्रास्फीति दर अनुमान गरेभन्दा धेरै ५४.४४ प्रतिशत पुगेको छ। 

टर्कीको तथ्यांक संस्थाका अनुसार उपभोग्य वस्तुको मूल्य अघिल्लो महिनाको तुलनामा ४.८१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै उत्पादक मूल्य सूचक पनि ७.२२ प्रतिशतले वृद्धि भएको छ। 

गत जनवरीमा तेलको रेकर्डतोड आयात गर्दा टर्कीको व्यापार घाटामा उल्लेख्य वृद्धि भएको छ। यस्तै रुस–युक्रेन युद्धका कारण आपूर्तिमा समस्या आउने भयका कारण वस्तुको मूल्य निरन्तर वृद्धि भइरहेको छ। ब्रेन्ट क्रुड आयलको मूल्य गत वर्षको तुलनामा ५३ प्रतिशतले वृद्धि भएको छ। 

आर्थिक रुढिवादीविरुद्ध निरन्तर बहस गर्दै टर्कीका राष्ट्रपति रेसेप टाइइप इर्डो गानले कर्जा र निर्यातलाई प्राथमिकता दिएका छन्। उनले ब्याजदर वृद्धि गर्दा मुद्रास्फीति नियन्त्रण हुनुका साटो झनै बिग्रने बताएका छन्। 

टर्कीको केन्द्रीय बैंकले गत सेप्टेम्बरयता ब्याजदरमा ५०० बेसिक प्वाइन्ट (१४ प्रतिशत) कटौती गरेको छ। 

राष्ट्रपति इर्डोगानले मुद्रास्फीति लगातार बढ्दै गएकाले ब्याजदर बढाउन अस्वीकार गरेपछि पछिल्लो एक वर्षमा टर्कीको मुद्रा लिराको मूल्य ४७ प्रतिशतले घटेको छ। मुद्राको मूल्यमा आएको गिरावटले टर्कीका जनता नराम्ररी प्रभावित बनेका छन्। 

मुद्रामा आएको गिरावटसँगै उनीहरुको तलबको मूल्य घट्नुका साथै जीवनयापन लागत नाटकीय रुपमा बढेको छ। विद्युत तथा प्राकृतिक ग्यासको महसुलमा भएको वृद्धिले उपभोक्ता र व्यवसायीको पीडा झनै बढाइदिएको छ। – एजेन्सी