काठमाण्डौ । पाकिस्तानमा महङ्गीदर अचाक्ली बढेको छ । आर्थिक संकटबाट गुज्रिरहेको यो मुलुकमा खाद्य वस्तुको महङ्गीदर थामिनसक्नु गरी बढेको हो । 

महङ्गी यसरी बढेको छ कि दूध, चिकनजस्ता आवश्यक खाद्य वस्तु खरीदका लागि धेरै ठूलो रकम चाहिने अवस्था बनेको छ । 

पाकिस्तानमा दूधको मूल्य प्रतिलिटर २१० भन्दा माथि पुगिसकेको छ । यस्तै, जिउँदो ब्रोइलर कुखुराको मूल्य समेत एकसातामै ६० रुपैयाँभन्दा बढीले वृद्धि भई ५०० रुपैयाँ प्रतिकेजीभन्दा माथि पुगेको छ । 

एजेन्सीहरुकाअनुसार पाकिस्तानमा बोनलेस चिकनको बजारभाउ प्रतिकेजी ११०० माथि पुगिसकेको छ । सामान्य कुखुराको मूल्य प्रतिकेजी ६२० बाट बढेर ७८० भन्दा माथि पुगेको छ । 

पाकिस्तानका दूग्ध उत्पादकहरुलाई उद्धृत गर्दै रिपोर्टहरुमा बताइएअनुसार पाकिस्तानमा १००० भन्दा बढी यस्ता पसल छन्, जहाँ दूधको मूल्य २१० रुपैयाँभन्दा माथि कायम गरिएको छ । 

हाल पाकिस्तानमा महङ्गीदर ४८ वर्षकै उच्च स्तरमा छ । त्यहाँ सञ्चित विदेशी मुद्राले एक महिना बराबरको वस्तु तथा सेवा आयात पनि धान्दैन ।

जनवरीमा उपभोक्ता मूल्य सूचकांक २७.६ प्रतिशत र थोक मूल्य सूचकांक भने २८.५ प्रतिशतको उचाईमा पुगेको छ । 

महङ्गीका कारण पाकिस्तान टाट पल्टिने अवस्थामा पुगेको छ । पाकिस्तानको अब सबै आशा आइएमएफबाट प्राप्तहुने बेलआउट प्याकेजमा गएर अडिएको छ । तथापि, यस्तो सहयोगको बदलामा पाकिस्तानले केही कठीन शर्तहरु पूरा गर्नुपर्ने हुन्छ । तर, जस्तोसुकै शर्त पनि मान्नुपर्ने बाध्यतामा पाकिस्तान रहेको छ । 

आइएमएफले पाकिस्तानलाई विभिन्न कर शीर्षकमा १७० अर्ब जनताबाट असूल्न भनेको छ । पाकिस्तानको टाउकोमाथि यसअघि नै ९०० अर्बको सर्कुलर कर्जा छ । 

दोश्रो शर्तको रुपमा पाकिस्तानले सामानको निर्यात गर्दा कर छुट दिनुपर्ने विषय अगाडि सारिएको छ । 

यस्तै, तेश्रो तथा सबैभन्दा कठीन शर्त चाहिँ कुनै पनि हालतमा उसको विदेशी मुद्रा भण्डारणमा डलरको कमी हुनुहुँदैन । यी ती शर्त पूरा गरे मात्र पाकिस्तानले सहयोग पाउने बताइएको छ। 
-एजेन्सी