– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । कोरोना महामारीबीच अहिले विश्व बजारसँगै नेपालको सेयर बजार पनि चम्किरहेको छ। यो बेला अन्य क्षेत्रमा भन्दा सेयर बजारमा ठूलो मात्रामा लगानी भित्रिरहेको छ। 

बजारमा सेयर कारोबारको संख्या पनि दिनानुदिन बढ्दै गइरहेका छन्। यद्यपि यो महामारीबीच लगानीकर्ताहरुले अनलाइन प्रणालीमार्फत सेयर कारोबार गरिरहेका छन्। पछिल्लो तथ्यांकअनुसार अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या झन्डै ३ लाख पुगेका छन्। यो जनवरीमा मात्रै झन्डै ४६ हजार लगानीकर्ताले अनलाइन सेवा लिएका छन्। 

अनलाइन प्रणालीमार्फत ब्रोकर हाउस नै नगई घर, कार्यालय अनि जुनसुकै स्थानबाट कारोबार गर्न सकिने हुँदा लगानीकर्ताहरु अहिले धमाधम टीएमएस लिइरहेका छन्। 

टीएमएस कसरी खोल्ने ?

टीएमएस खोल्न सबैभन्दा पहिला चारवटा कागजपत्र तपाइँलाई आवश्यक हुन्छ । जुन तपाइँले पहिले तयार गरिराख्नुपर्छ। केवाईसी फाराम, नागरिकताको प्रतिलिपि, डीपी आईडी अनि तपाइँको तस्बिर। केवाईसी फाराम भने अनलाइनबाट पनि अपलोड गर्न सकिन्छ अथवा ब्रोकरलाई सीधै बुझाउन पनि सकिन्छ। 

यति कागजपत्र तयार भएपछि अब आफूले कारोबार गर्न चाहेको ब्रोकर हाउसको लिंकमा जानुपर्छ। 

उदाहरणका लागि https://tms16.nepsetms.com.np/login  र न्यु रजिस्ट्रेसन अनलाइन टे«ड्रिङमा क्लिक गर्ने । त्यसपछि ६ वटा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। जसमा जनरल डिटेल्स, इन्डिभिजुअल डिटेल्स, एड्रेस डिटेल्स, बैंक डिटेल्स, डिपोजेटरी डिटेल्स र डकुमेन्टस् डिटेल्स समावेश हुन्छन्।

जनरल डिटेल्स

यसमा तपाइँको ई–मेल एड्रेस, फोन नम्बर, पान नम्बरलगायत भर्नुपर्ने हुन्छ। यो भर्नका लागि पान नम्बर भने अनिवार्य छैन। एड्रेस डिटेलमा स्थायी तथा अस्थायी ठेगाना भर्नुपर्छ। 

इन्डिभिजुअल डिटेल

यो भर्दा अलि होस पुर्याउनुपर्छ। यहाँ धेरैले गल्ती गरेको पाइन्छ । यसमा जन्म मिति र नागरिकता जारी मिति भर्दा अंगे्रजी मिति नै राख्नुपर्ने हुन्छ । अन्यथा सिस्टमले  स्वीकार गर्दैन । 

बैंक डिटेल्स

यसमा आफ्नो बैंकको खाता नम्बर र बैंकको ठेगाना भर्नुपर्छ। 

डिपोजेटरी डिटेल्स

यसमा आफ्नो १६ अंकको बैंक तथा ब्रोकरले उपलब्ध गराएको डीपी अथवा बीओआईडी नम्बर भर्नुपर्छ। 

डकुमेन्टस् डिटेल्स

यसमा नागरिकताको प्रतिलिपि, केवाईसी फाराम र फोटो अपलोड गर्नुपर्छ। त्यसपछि लिंकमा गएर ब्रोकरले उपलब्ध गराएको क्लाइन्ट आईडी र ई–मेल एड्रेस राखी फर्गेट पासवोर्डमा क्लिक गर्नुपर्छ। यति भइसके उपलब्ध गराइएको ई–मेलमा नोट्सले एउटा ई–मेल पठाउँछ। ई–मेल आउन कहिलेकाहीँ समय लाग्न पनि सक्छ । अन्य कुनै प्राविधिक समस्या भए ब्रोकरमा सीधै सम्पर्क गरेर समाधान गर्न पनि सकिन्छ।

ई–मेल प्राप्त भएपछि आफूले पासवर्ड परिवर्तन गरी टीएमएस सहज तरिकाले चलाउन सकिन्छ। पासवोर्ड राख्दा अगाडिको अक्षर ठूलो र अंक–अक्षर र एट द रेट प्रयोग गरी पासवोर्ड राख्नुपर्छ।