काठमाण्डौ। ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मा आज बिहीबार समस्या देखिँदा सयौँ लगानीकर्ता प्रभावित भएका छन्। 

बिक्रीमूल्यभन्दा खरिदमूल्य बढी भए पनि सेयर किनबेच नभएको हो। बिक्रीमूल्यभन्दा खरिदमूल्य अधिक भए पनि नेप्सेमा सूचीकृत कम्पनीका सेयर म्याचिङ नभएकाले सेयर किनबेच भएको छैन। 

टीएमएसमा प्राप्त सूचनाका आधारमा लगानीकर्ताहरुले सेयर किनबेच गर्नुपर्ने हुन्छ। सेयरको मूल्य नै गलत प्रवाह भइरहेकाले आज सेयर कारोबार निकै नराम्रोसँग प्रभावित भइरहेको हो।

टीएमएसमा प्रभु इन्स्योरेन्सको बिक्रीतर्फ १० कित्ता प्रतिकित्ता रु. ९५४ छ भने खरिदतर्फ १०० प्रतिकित्ता रु. ९५८ का दरले समेत म्याचिङ भएको छैन। 

यस्तै समस्या अजोड इन्स्योरेन्सको पनि छ। जसमा २० कित्ता बिक्रीतर्फ रु. ७०६ का दरले राखिएको छ तर यता खरिदतर्फ प्रतिकित्ता रु. ७१९ का दरले ५०० कित्ता हुँदासमेत कारोबार म्याचिङ भएको छैन।

बिक्रीमूल्यभन्दा खरिदमूल्य बढी भए पनि ती २ कम्पनीका सेयर म्याचिङ भइरहेको छैन। यी कम्पनीका मात्रै होइनन् कि एनएलजी, नेरुडेलगायतका थुप्रै कम्पनीका सेयर म्याचिङ नभइरहेको ब्रोकरहरु बताउँछन्।

प्रभु र अजोडको सेयर किनबेचमा मुख्य समस्या टीएमएसकै भएको लगानीकर्ता रोहन कार्की बताउँछन्। आफूले सेयर किनबेच गर्ने सिलसिलामा यो तथ्य आएको र सिस्टम निर्माता वाइको प्रालि र नेप्सेलाई सूचित गर्दासमेत अहिलेसम्म समाधान नभएको उनको भनाइ छ। यस्ता समस्या टीएमएसमा बारम्बार दोहोरिएकाले सेयर कारोबार नै प्रभावित भइरहेको उनको जिकिर छ। 

नियमित कारोबार समयमै यस्ता समस्या दोहोरिँदा नेप्सेको अनलाइन कारोबार प्रणालीप्रति नै विश्वसनीयताको प्रश्न उठान भइरहेको छ। यस विषयमा बुझ्दा नेप्सेका प्रवक्ता मुराहरि पराजुली बुझेरमात्रै केही बताउन सक्ने बताउँछन्।