काठमाण्डौ । आज नेपालीहरुको महान चाड विजयादशमीको मुख्य दिन आश्विन शुक्ल दशमी अर्थात नवदुर्गा भवानीको प्रसादको रुपमा रातो टीका र जमरा लगाउने दिन । 

मान्यजनहरुबाट टीका र जमरा लगाएर आशिर्वाद थाप्ने यो दिन टीका लगाउने साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज टीका लगाउने उत्तम साइत १०ः१९ रहेको छ । देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको समेत समितिले जानकारी दिएको छ । 

समितिले दशैंको शुभ साइत १०ः१९ बजे भए पनि सर्वसाधारणले आज दिनभर टीका लगाउन सक्नेछन् । 

घटस्थापनाबाट सुरु हुने दशैं असत्यमाथि सत्यको विजय भएको विशेष दिनको रुपमा दशमी पर्व मनाइने गरिन्छ । 

दशैंको टीकाको अवसरमा राष्टपति, प्रधानमन्त्री लगायतले शुभकामना सन्देश दिंदै स्वास्थ्य मापदण्ड ख्याल गरी टीका लगाउन र थाप्न आग्रह गरेका छन्  । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको अवसरमा शुभकामना दिंदै फजूल खर्च नगर्न आग्रह गरेका छन् । 

उनले जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गरेका छन् ।

औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइन भन्दै प्रधानमन्त्री ओलीले यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी बनाउन आग्रह गरेका छन् । 
अहिले कोरोना महामारीको विषम परिस्थितिमा चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न पनि सुझाएका छन्।

संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिइएको पनि उनले जानकारी दिएका छन् ।