काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले टी प्लस टु व्यवस्था कार्यान्वयन गर्ने ब्रोकरमाथि कारोबाही गर्ने चेतावनी दिएका छन्।

आज राजधानीमा आर्थिक पत्रकारहरुसँगको पत्रकार सम्मेलनमा अध्यक्ष हमालले ब्रोकरलाई यस्तो चेतावनी दिएका हुन्। ‘अहिलेको व्यवस्थाअनुसार दुई कार्यदिनभित्रै (टी प्लस टु) मा सेयर कारोबार राफसाफ हुनुपर्छ, तोकिएको समयमा राफसाफ नभएमा ब्रोकरमाथि तत्काल कारबाही हुनेछ’, उनले भने। 

अध्यक्ष हमालले साना लगानीकर्ताको हितमा आफूले काम गर्ने प्रतिबद्धता गरे। ‘ठूलाले गर्ने जालझेलबाट साना लगानीकर्तालाई बचाउनु नै मेरो मुख्य उद्देश्य हुनेछ’, उनले भने, ‘त्यसका लागि पुँजीबजारमा देखिएको इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङजस्ता विकृति रोक्न आवश्यक कदम चाल्नेछु। त्यसका लागि नयाँ नीतिनियम र आवश्यक व्यवस्था ल्याउन म तयार छु।’ 

अध्यक्ष हमालले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइन्सेन्स वितरण गर्ने विषयमा अध्ययन गरेर अगाडि बढ्ने पनि बताए। ‘अहिले लगानीकर्ताहरुले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर संख्या बढाउनुपर्यो भनिरहेका छन्’, उनले भने, ‘लगानीकर्ताहरुको जायज मागमा थप अध्ययन गरेर पूरा गर्ने म प्रतिबद्धता गर्न चाहन्छु।’

बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा पनि प्रभावकारी ढंगले कार्यान्वयन गरिने अध्यक्ष हमालले बताए। ‘धेरै नाफा गरेका कम्पनीहरु अंकित मूल्यमा आईपीओ ल्याउनुभन्दा पनि बुक विल्डिङ विधिबाट ल्याउनु उपयुक्त र प्रभावकारी हुन्छ’, उनले भने। 

अध्यक्ष हमालले बजार बैंक, हाइड्रोमा सीमित रहेको उल्लेख गर्दै रियल सेक्टर पनि भित्र्याउनुपर्ने आवश्यक रहेको बताए। ‘नेपालमा पनि थुप्रै नाफा कमाएका र सबल कम्पनीहरु छन् तर ती रियल सेक्टरमा आउन सकेका छैनन्’, उनले भने, ‘रियल सेक्टरका कम्पनीहरु ल्याउन हामी तयार गछौँ।’

अहिलेको बजारमा रियल सेक्टर कम्पनी ल्याउनैपर्ने हमालको भनाइ छ। ‘बजारको स्थायित्व र विकासका लागि पनि यो आवश्यक छ’, उनले भने। 

साना लगानीकर्ताहरुको हितका लागि पुँजीबजारसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि धितोपत्र बोर्डले अध्ययन गरिरहेको हमालले बताए। ‘अहिले बजारमा ठूलो संख्यामा लगानीकर्ता भित्रिए पनि बजारसम्बन्धी साक्षरताको कमी छ’, उनले भने, ‘त्यसैले जनचेतना बढाउन विभिन्न कार्यक्रम गरिनेछ।’

अध्यक्ष हमालले पुँजीबजारलाई दिगो बनाउनका लागि धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्ने, भौतिक पूर्वाधारमा सुधार गर्ने, म्यानेजमेन्ट इन्फरमेसन सिस्टममा काम गर्ने, बजार नियमनका लागि अटोमेटिक सर्भेलेन्स सिस्टम जडान गर्नेजस्ता विषयमा आफूले काम गरिरहेको बताए। ‘अध्यक्ष भएको ६ महिनाभित्र मेरो कामको नतिजा तपाइँहरुले देख्न पाउनुहुनेछ’, उनले भने।