काठमाण्डौ। टुटल र पठाओलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले अन्य प्रयोजनका लागि दर्ता भएका सवारीसाधनले भाडा लिएर यात्रु बोक्न नपाउने व्यवस्था रहेको पुनः अवगत गराएको छ।

विभागले बुधबार एक सूचना जारी गर्दै यदि कानुन उल्लंघन गरी अन्य प्रयोजनाका लागि दर्ता भएका सवारीसाधनले भाडामा यात्रु बोकेको पाइएमा कारबाही हुने चेतावनी पनि दिएको छ।

कानुनविपरीत सेवा प्रवाह गरिरहेको भन्दै ट्याक्सी चालकहरुले टुटल र पठाओलाई भाडामा यात्रु बोक्न नदिन बुधबार बिहान विभाग घेराउ गरेका थिए। ट्याक्सी चालकहरुको आन्दोलनलाई सम्बोधन गर्दै विभागले अन्य प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई भाडामा यात्रु ओसार्ने काम तत्काल बन्द गर्न निर्देशन पनि दिएको छ।

विभागको सूचनामा यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका लागि दर्ता भएको सवारीसाधन अर्को प्रयोजनमा ल्याउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्पष्ट पारिएको छ।

टुटल र पठाओले भाडामा यात्रु ओसारेको विषयमा पटकपटक विवाद हुँदै आएको छ। टुटल र पठाओले भाडामा यात्रु ओसार्दा आफूहरुको व्यवसायमा गम्भीर असर परेको र रोजीरोटी गुम्नुका साथै बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसमेत तिर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलित हुँदै आएका छन्।