काठमाण्डौ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक हप्ताका लागि स्थगन गरिएको कोरोनाविरुद्धको खोप अभियान आज माघ ११ गतेदेखि पुनः सञ्चालन हुने भएको छ।

अस्पतालका निर्देशक डा मनीषा रावलले काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन्। आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने उनले जानकारी दिइन्।

गत आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी कोरोनाबाट संक्रमित भएपछि सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरिएको थियो।

अस्पतालमा कोरोनाविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो।