काठमाण्डौ । कसैलाई फोन गर्दा तपाईं थाहै नपाई कुनै गतिलो कम्पनीको शेयरधनी हुन पाउनुहोला भनेर सायदै कल्पना गर्नुभएको होला । अझ नेपालका दूरसंचार प्रदायक कम्पनीहरुको सेवा खासै गुणस्तरीय हुन नसकेको र उनीहरुको जनतासँगको सामीप्यता कायम हुन नसकेको बेला यस्तो विषयमा कल्पना गर्नु पनि उचित नलाग्ला तपाईंलाई । तर संचारमन्त्रालयको निर्देशन र नेपाल टेलिकमको तीव्र तयारीमा भइरहेको एउटा नौलो कामले तपाईंलाई यस्तो अवसर प्रदान गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमै समावेश गर्ने गरी नेपाल टेलिकमको नेटवर्क प्रयोग गरी सोही नेटवर्कमा फोन गर्ने ग्राहकहरु लक्षित ‘एक कल एक शेयर’ वा ‘एक सीम एक शेयर’को नौलो अवधारणा आउन लागेको हो । 

संचारमन्त्री शेरधन राईको अवधारणा अनुसार ‘एक कल एक शेयर’को नयाँ कार्यक्रम ल्याउन लागिएको बुधबार नेपाल दूरसंचार कम्पनी लिमीटेडको भद्रकालीस्थित मुख्य कार्यालयमा ‘टेलिकम सुधारको मार्गचित्र’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै कम्पनीको संचालक समिति अध्यक्ष तथा संचार मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी गराएका हुन् । ‘अब नेपाल टेलिकमलाई जनताको कम्पनी बनाउन एक कल गर्दा त्यसबाट निश्चित रकम उसको शेयरमा रुपान्तरण हुने नौलो अवधारण ‘एक कल एक शेयर’ कार्यक्रम ल्याउँदैछौ ।’ थपलियाले भने–‘उदाहरणका लागि एनटीसी प्रयोगकर्ताले एउटा लोकल कल गर्दा त्यसबाट ३ पैसा शेयरमा जम्मा हुने व्यवस्था हुन्छ । यस्तै सानो सानो रकम जम्मा हुँदै गएर ऊ केही वर्षपछि ठूलै कम्पनीको राम्रो शेयरधनी बन्छ ।’ उनले ‘एक कल एक शेयर’को नयाँ अवधारणा आगामी आर्थिक वर्षदेखि नै सुरु हुने उल्लेख गर्दै इच्छुकलाई मात्र यो कार्यक्रममा समावेश गराइने प्रष्ट्याए । यो कार्यक्रममा अहिलेका टेलिकम प्रयोगकर्तामध्ये ५० प्रतिशत मात्र सहभागी भए भने पनि ५ वर्षमा जम्मा भएको पैसाले ठूलै जलविद्युत आयोजना बन्नसक्ने सरकारी अध्ययनले देखाएको थपलियाको दाबी थियो । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित संचारमन्त्री शेरधन राईले समेत आगामी बजेट कार्यक्रममै ‘एक कल एक शेयर’को नौलो कार्यक्रम आउने वचन दिए । सेवामा प्रभावकारिता, गुणस्तरमा आमूल सुधार, सेवा क्षेत्रको बिस्तार र नयाँ प्रविधिको शीघ्र सुरुवातले मात्र नभई जनतासँग टेलिकमको भावना र साथ जोडिनुपर्ने ठानेरै आफूले ‘एक कल एक शेयर’को अवधारणा ल्याएको प्रष्ट्याए । ‘यो कार्यक्रममार्फत सेवाग्राहीलाई जोड्न सक्ने नौलो र सफल प्रयोग हुनसक्छ, यो दीर्घकालीन हिसाबले सेवाग्राहीलाई एनटीसीमै जोडिरहन समेत सफल प्रयोग बन्ने विश्वास छ ।’ उनले थपे–‘अब हामीले नयाँ–नयाँ अवधारणा ल्याएर टेलिकमलाई निर्विकल्प पहिलो नम्बरको दूरसंचार प्रदायक कम्पनी बनाउनुपर्छ, यस्तो अवधारणा आओस्, हामीबाट यूरोप र अमेरिकाले पनि सिकून् ।’ 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यले मन्त्री राईको अवधारणालाई कार्यान्वयनका लागि आफूहरु हरदम तयार रहेको बताएका थिए ।