काठमाण्डौ । कर्मचारीहरुको तीव्र विरोधका बाबजुद सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । 

आज बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । 

संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मन्त्रालयले टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य, वर्तमान प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी अर्यालसहित पौडेलको नाम सिफारिस गरेको थियो ।

सिफारिस तीन नाममध्येबाट पौडेललाई प्रबन्ध निर्देशक बनाइएको हो । 

टेलिकमको एमडीमा पौडेललाई ल्याउने गरी पहिलादेखि नै दरखास्तको मापदण्ड संसोधन भएको लगायतका मुद्धा उठाएर कर्मचारीहरुले आन्दोलन गरिरहेका थिए । उनीहरुले टेलिकमभित्रैको व्यक्तिलाई एमडी बनाइनुपर्ने माग गरेका थिए । तर, ती माग बेवास्ता गर्दै सरकारले टेलिकमबाहिरका पौडेललाई एमडीमा नियुक्त गरेको हो । 

टेलिकमको एमडी बन्न ९ जनाले दरखास्त दिएका थिए ।