काठमाण्डौ । सर्वसाधारण नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले कम्पनीको सेवा, सुविधा सम्बन्धमा आमसञ्चार माध्यममा २०७३ सालमा प्रकाशितरप्रसारित समाचार सामाग्रीमध्ये उत्कृष्ट दुईवटा सामग्री छनोट गरी दुईजना सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम अनुसार छनोट हुने सञ्चारकर्मीहरुको नाम घोषणा गरिएको छ । 

यसअनुसार ''टेलिकमको फोरजी सुरु'' शीर्षकको समाचार लेख्ने नागरिक दैनिकका सञ्चारकर्मीद्वय सन्तोष न्यौपाने(काठमाडौ) र सन्तोष पोखरेल(पोखरा)लाई (संयुक्त रुपमा लेखिएको समाचारका लागि) संयुक्त रुपमा र ''नेपालमा ‘फोरजी’ सेवा सुरु'' शीर्षकको समाचार लेख्ने गोरखापत्र दैनिकका सञ्चारकर्मी विश्वास रेग्मीलाई प्रदान गर्ने निर्णय गरिएको टेलिकमले जनाएको छ । उनीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी निकट भविष्यमा सम्मान गरिने टेलिकमले एक विज्ञप्तिमार्फत जनाएको छ । 

कम्पनीले नेपालका आमसञ्चार माध्यममा नेपाल टेलिकमको सेवा, सुविधा सम्बन्धमा उत्कृष्ट सामग्री प्रकाशनरप्रसारण गर्ने दुई  सञ्चारकर्मीलाई छनौैट गरी पुरस्कृत गरेर सम्मानित गर्ने प्रयोजनका लागि मिति २०७४।०१।२१ मा नेपाल पत्रकार महासंघको समेत प्रतिनिधित्व रहने गरी मूल्याङकन समिति गठन गरेको थियो । उक्त समितिले २०७४।०१।२२ गते सूचना प्रकाशित गरी सो सम्बन्धी सामाग्री पठाउन आह्वान गरेको थियो ।

सो अनुसार समितिले प्राप्त सामग्रीहरुको तथ्यपरकता, सन्तुलन, विश्वसनीयता, विषयवस्तुको सान्दर्भिकता, भाषा आदिको आधारमा मूल्याङ्कन गरी उत्कृष्ट समाचार सामग्री छनोट गरेको हो ।