काठमाण्डौ । नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने तयारी गरिरहेकाले यस सेवाप्रतिको आकर्षणमा निरन्तर वृद्धि हुने देखिन्छ ।  

विद्युत आपूर्ति अवरुद्ध भएको समयमा एफटीटीएचको भ्वाइस सेवा अवरुद्ध हुन जाने हुनाले इन्भर्टरको फुल व्याकअप भएका घर तथा कार्यालय बाहेक अन्य स्थानहरुमा भ्वाइस सेवा प्रयोगमा असुविधा उत्पन्न भएको पाइएको छ । हाल बजारमा सानो खालको राउटर यूपीएस वा एडेप्टर समेत सहज रुपमा उपलब्ध भएको हुनाले ग्राहकहरुले आफ्नो सुविधाका लागि यस्ता डिभाइस प्रयोग गर्नु उपयुक्त हुने देखिन्छ । 

राउटर यूपीएस जस्ता साना डिभाइस विभिन्न क्षमताका हुन्छन् र विद्युत नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरताका लागि उपयुक्त हुन्छन् । एडेप्टरमा भने त्यसमा भएको ब्याट्री विद्युत उपलब्ध भएको समयमा आफैं चार्ज हुन्छ र विद्युत नभएको समयमा त्यही ब्याकअप पावर खपत हुन्छ ।  कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडेप्टर उपयुक्त हुने भएकाले ग्राहकवर्गले आफ्नो आवश्यकता तथा सहजता अनुसार बजार वा अनलाइनबाट खरिद गरी प्रयोग गर्न उपयुक्त हुने देखिन्छ ।  

हाल कम्पनीले एफटीटीएच सेवामा विभिन्न प्याकेजहरु आकर्षक दरमा उपलब्ध गराइरहेको छ । प्राविधिक रुपले सम्भव हुने स्थानहरुमा पुरानो ल्याण्डलाइन फोनलाई एफटीटीएच प्याकेजअन्तर्गत एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध गराई नयाँ एफटीटीएच जडान गर्दै आएको छ  । यसका लागि ग्राहकवर्गले नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ । उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु, टेलिफोन सेवा र भविष्यमा टेलिभिजन समेत उपलब्ध भए पश्चात् ग्राहकवर्गका लागि कम्पनीको ट्रिपल प्ले सुविधा थप आकर्षक हुने विश्वास गरिएको छ ।