काठमाण्डौ । विश्वको दोस्रो ठूला अर्बपति एलन मस्कको कम्पनी टेस्लाले चिनियाँ कम्पनीहरुको कडा चुनौतीको सामना गरिरहेको छ। विद्युतीय कार बनाउने यो कम्पनीले बिक्री बढाउन भारी छुट दिनुपर्ने अवस्था आएको छ।
कम्पनीले यो वर्ष पाँचौँपटक गाडी मूल्य परिवर्तन गरेको छ। टेस्ला कहिल्यै छुट नदिने कम्पनीका रुपमा चिनिन्थ्यो। तर, अहिले अवस्था फेरिएको छ।
चिनियाँ कम्पनीहरुसँगै टेस्लाको अन्य अटो कम्पनीहरुसँग पनि कडा प्रतिस्पर्धा भइरहेको छ। यसमा फोर्ड, जनरल मोटर्स, रिभियन, लुसिड र चिनियाँ कम्पनी बीवाईडी र नियो समावेश छन्।
टेस्लाले आफ्नो बिक्री बढाउन र प्रतिस्पर्धी कम्पनीलाई कडा चुनौती दिनका लागि फेरि गाडीको मूल्यमा भारी कटौती गरेको छ। अमेरिकामा कम्पनीले आफ्ना महँगो मोडलमा ४ प्रतिशतदेखि ९ प्रतिशतसम्म छुट दिने गरेको छ। यो छुट कम्पनीको स्पोर्ट्स कार मोडल एस (मोडल एस) र मिड साइज स्पोर्ट्स युटिलिटी भेइकल मोडल एक्स (मोडल एक्स) मा दिइएको छ।
त्यसैगरी टेस्लाले युरोप र बेलायतमा मोडल ३ सेडान र मोडल वाईमा छुट दिइरहेको छ। मोडल ३ ले बेलायतमा ६ प्रतिशत मूल्य कटौती गरेको छ। अब त्यहाँ यसको मूल्य ६० हजार ९० पाउन्डबाट घटेर ५६ हजार ५४० पाउन्डमा झरेको छ।
गत वर्ष टेस्लाले ५० प्रतिशत बढी सवारीसाधन उपलब्ध गराउने लक्ष्य राखेको थियो तर त्यो पूरा हुन सकेको छैन। आपूर्ति शृंखलाको समस्या र अर्थतन्त्र कमजोर भएकाले यस्तो समस्या भएको कम्पनीले जनाएको छ।
मूल्य घटेका कारण माग बढ्दै गएको मस्कले यसअघि बताएका थिए। गत हप्ता लगानीकर्तासँगको प्रस्तुतिमा उनले भनेका थिए, ‘मानिसहरु टेस्ला कारहरु किन्न उत्सुक छन् तर तिनीहरुसँग यसका लागि पैसा छैन।’
गत जनवरीमा पनि मस्कले सुस्तताका कारण यो वर्ष कारको माग घट्ने बताएका थिए।
टेस्लाले पहिलो पटक जनवरीमा २० प्रतिशतसम्म मूल्य घटाएको थियो। यसपछि कम्पनीले केही देशमा धेरै मोडलको मूल्य बढाएको थियो। टेस्लाले इलेक्ट्रिक कार बजारमा प्रभुत्व जमाउन जारी राखेको छ तर हालै धेरै अटो कम्पनीहरुले चुनौती दिएका छन्।
अमेरिकी बजारमा टेस्लाले फोर्ड र जनरल मोटर्सजस्ता अटो कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ। यी कम्पनीहरु विद्युतीय कार बजारमा प्रवेश गरेका छन्। यससँगै रिभियन र लुसिडजस्ता नयाँ कम्पनी पनि टेस्लाको टाउको दुखाइको विषय बनेका छन्।
बीवाईडी र नियोले चिनियाँ बजारमा टेस्लालाई समस्यामा पारेका छन्। विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लाले चीनमा ठूलो लगानी गरेको छ। यो कम्पनीको चीनमा सबैभन्दा ठूलो प्लान्ट छ र चीन टेस्लाका लागि दोस्रो ठूलो बजार हो।
मस्क आफैँ चिनियाँ कम्पनीहरुलाई आफ्नो लागि ठूलो खतरा मान्छन्। उनले चिनियाँ बजार विश्वमै सबैभन्दा प्रतिस्पर्धी रहेको बताए। ‘चिनियाँ कम्पनीहरुले कडा परिश्रम गर्छन् र स्मार्ट काम गर्छन्’, उनले भने। –एजेन्सी
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
18 hours ago