काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरस चीनको वुहानस्थित एउटा ल्याबबाट विकसित भएको दाबी गरेका छन्।

ह्वाइटहाउसमा बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका छन्। एकातिर अमेरिकी इन्टिलिजेन्ट एजेन्सीहरुले चीनले जानीजानी यो भाइरस विकास नगरेको बताइरहेकै बेला राष्ट्रपति ट्रम्पबाट यस्तो अभिव्यक्ति आएपछि अमेरिका र चीनबीचको सम्बन्धमा झनै चिसो उत्पन्न हुने पक्का रहेको विश्लेषकहरु बताउँछन्।

पत्रकार सम्मेलनमा यो भाइरस वुहान इन्स्टिच्युट अफ वायरोलोजीमा विकास गरिएको भन्ने प्रमाण तपाइँसँग के छ भनी सञ्चारकर्मीले राखेको जिज्ञासामा ट्रम्पले भने, ‘मसँग बकाइदा प्रमाण छ।’

राष्ट्रपति टङम्पले चीनले यस्तो गल्ती जानीबुझी, अन्जानमा वा फेरि कुनै लक्ष्य पूरा गर्न गरेको हो वा अन्य कारणले भन्ने विषयमा पत्ता लाग्न नसकेको बताए। ‘मैले यो कुरा बुझ्न सकेको छैन कि यो महामारी पत्ता लागेपछि चीनले हुवे प्रान्तका जनतालाई चीनकै अर्को सहरमा जान चाहिँ रोक लगायो तर पूरै विश्वमा जान चाहिँ किन रोक लगाएन’, उनले भने, ‘यो रहस्यमय कुरा बनेको छ, जसको जबाफ पाउन निकै कठिन छ। तर यो कुरा जबाफ चीनले दिनपर्छै।’

ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई चीनको प्रचारप्रसारको काम गरिरहेको पनि आरोप लगाए। ‘डब्ल्यूएचओलाई यस्तो काम गर्दा लाज लाग्नुपर्ने हो’, उनले भने, ‘उसले चीनको पब्लिक रिलेसनकै जसरी काम गरिरहेको छ।’