– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता दोस्रो बजारमा ४ दिन कारोबार भएको छ। बजार ३ दिन घट्यो भने १ दिन बढ्यो। 

अघिल्लो साता १९३३.३१ मा बन्द भएको बजार यो साता १९१५.१५ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा १८.१६ अंकले गिरावट आएको छ। अघिल्लो साता पनि दोस्रो बजारमा करिब ७० अंकले गिरावट आएको थियो। 

यो साता ४ दिनमा ४ अर्ब ९३ करोड रुपैयाँबराबर कारोबार भएको छ। अघिल्लो साता ५ दिनमा ६ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो। यस हिसाबले यो साता दैनिक एभरेज कारोबार १ अर्ब २३ करोड बराबर करोबार भएको छ। 

समग्रमा यो साता दोस्रो बजारमा गिरावट आयो तर अघिल्लो साताको तुलनामा घट्ने क्रममा भने कमी आएको छ। 

प्राविधिक पक्ष 

सन् २०२१ को अगस्टमा करिब ३२०० को वन्दुलाई सबैभन्दा उच्च विन्दु बनाएको बजारले त्यहाँबाट खसेपछि ३ पटक २००० भन्दा तल झरेर कारोबार भएको छ। योसँगै नेप्सेको चार्टमा ट्रिपल बटम बन्दै गरेको देखिन्छ। 

सबैभन्दा पहिले बजारले सन् २०२२ को जुनमा पहिलोपटक १८०६ को विन्दुमा बटम बनाएको थियो। त्यसपछि बजार फर्केर पुनः २२०० भन्दा माथि पुगेको थियो। त्यहाँबाट पनि खसेर बजार पुनः १८१० सम्म आएर डबल बटम बनाएको थियो। त्यहाँबाट फेरि माथिको यात्रा तय गरेको बजार २२७५ सम्म पुगेको थियो। तर, त्यहाँबाट खसेको बजार यो साता करिब १९१५ मा बन्द भएको छ। यसलाई रेखामार्फत हेर्दा बजारले करिब–करिब ट्रिपल बटम बनाउँदै गरेको देखिन्छ। 

बजारलाई अघिल्लोपटकका २ वटा बटम लाइनलाई ट्रेन्ड लाइनमार्फत तानेर हेर्दा हालको गिरावटको बटम प्वइन्ट भनेको करिब १८९० को आसपास हुन सक्ने देखिन्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

साप्ताहिक चार्टमा बजार बोलिंगर ब्यान्डमार्फत हेर्दा अघिल्लो साता नै ब्यान्डकोतल्लो विन्दु छोडेर तल झरेको थियो। यो साता पनि  इन्भर्टेड ह्याम्मर क्यान्डल बनेको देखिन्छ। यसले मूल्यरेखा तल्लो ब्यान्डतर्फ आकर्षित हुँदै गरेको देखिन्छ। 

साप्ताहिक चार्टमा आरएसआई ६० को विन्दुमा प्रतिरोध सामना गरेर हाल ४० को तहमा पुगेको छ। म्याक्डीमार्फत हेर्दा भने अघिल्लो  साता नै बजार बियरिस क्रसओभर बनेको देखिन्छ भने यो साता झनै लामो रातो हस्टोग्राम बनेको देखिन्छ। (हेर्नुहोस् तस्बिरमा कालो एरो)

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यो साता सेयर बजारमा भएको उतारचढावका आधारमा सपोर्ट तथा प्रतिरोध निम्नानुसार छन्–

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १९९३
  • प्रतिरोध २ –२०५४
  • प्रतिरोध ३– २०९१

पिभट प्वइन्ट : १९५६ 

घटेमा सपोर्ट 

  • सपोर्ट १– १८९६
  • सपोर्ट २– १८५९
  • सपोर्ट ३– १७९९

निष्कर्ष

यो साता दोस्रो बजारमा करिब १८ अंकको गिरावट आएको छ। अघिल्लो साता भने करिब ७० अंकले बजार घटेको थियो। यो साता ४ दिन खुलेको बजारमा कारोबारमा करिब ५ अर्ब रुपैयाँको कारोबार भउको छ। अघिल्लो साताभन्दा यो साता बजार ओरालो लागे पनि घट्ने क्रम भने केही रोकिएको देखिन्छ। 

प्राविधिक रुपमा हेर्ने हो भने बजारले पुनः ट्रिपल बटम बनाउँदै गरेको देखिन्छ। यसअघि बजारले बनाएका २ वटा बटमलाई ट्रेन्ड लाइनमार्फत हेर्ने हो भने अबको बलियो सपोर्ट बजारले करिब १८९० को आसपासमा लिन सक्ने देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।