काठमाण्डौ । ब्याजदर मनोमानी रोक्न लगातार चौथोपटक नेपाल राष्ट्र बैंकले आफैँ ट्रेजरी बिलको ठूलो हिस्सा खरिद गरेको छ। 

सोमबार बोलकबोल भएको कुुल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिलको ठूलो हिस्सा राष्ट्र बैंक आफैँले किनेको हो।

मौद्रिक नीति सार्वजनिकपछि हालसम्म आउँदा ५ वटा ट्रेजरी बिल जारी गरिएको छ। तीमध्ये पछिल्लो ४ वटा ट्रेजरी बिलमा रष्ट्र बैंकले ठूलो अंश आफैँले खरिद गरेको छ। 

बैंक तथा वित्तीय संस्थाले महँगो ब्याजदर प्रस्ताव गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न ट्रेजरी बिल खरिद गर्दै आएको राष्ट्र बैंकका एक अधिकारीले बताए। 

साउनमा ट्रेजरीको ब्याजदर झन्डै १४ प्रतिशतसम्म पुुगेको थियो। अहिले ट्रेजरी बिलको ब्याजदर एकल विन्दुुमा झरिसकेको छ। यद्यपि ब्याजदरमा अझै नियन्त्रण गर्न राष्ट्र बैंकले लगातार ट्रेजरी बिल किनिरहेको छ। 

हिजो सोमबार राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गरेको थियो। जसमा ७ अर्ब ३५ करोड रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले खरिद गरेको छ भने ४ अर्ब ८८ करोड ३५ लाखको टे«जरी बैंक तथा वित्तीय संस्थाहरुले किनेका छन्।

२८ दिने २ अर्ब रुपैयाँको ट्रेजरीमा १३ बैंक तथा वित्तीय संस्थाले ५१ वटा आवेदनमार्फत ६ अर्ब ३१ करोडको लागि बोलकबोल पेश गरेका थिए । राष्ट्र बैंकका अनुुसार न्यूनतम ७.९९५८ प्रतिशत, अधिकतम ८.७५०३ प्रतिशत र औसत ८.७०५५ प्रतिशत ब्याजदरमा बैंकहरुले नै ट्रेजरी स्वीकार गरेका छन्। 

यस्तै सोमबार नै बोलकबोलमा ल्याइएको ९१ दिने २ अर्ब २३ करोड ३२ लाखको ट्रेजरी पनि बैंकहरुले खरिद गरेका छन्। जसमा १२ बैंक तथा वित्तीय संस्था १५ वटा आवेदनमार्फत ५ अर्ब ५९ करोड ८२ लाख रुपैयाँको ट्रेजरीको लागि बोकबोलका सहभागी थिए। न्यूनतम ९.८३९९ प्रतिशत, अधिकतम ९.४०९९ प्रतिशत र औसत ९.०८९१ प्रतिशत ब्याजदर रहेको थियो। 

राष्ट्र बैंकले सोमबार बोलकबोल भएको १८२ दिने ६ अर्ब रुपैयाँको ट्रेजरीको ठूलो हिस्सा खरिद गरेको छ। राष्ट्र बैंकले ५ अर्ब ८५ करोड ट्रेजरी आफूले खरिद गरेर १५ करोडको मात्रै बैंक तथा वित्तीयहरुलाई दिएको छ। यसमा १७ बैंक तथा वित्तीय संस्थाले ५२ आवेदनमार्फत ११ अर्ब १६ करोड ५० लाखको बोलकबोल गरेका थिए। उक्त बिलमा न्यूनतम ९ प्रतिशत, अधिकतम ०.०९ प्रतिशत र औसत ९.०२९९ प्रतिशत ब्याजदर कायम भएको छ। 

यस्तै ३६४ दिनको २ अर्बको ट्रेजरीमा १६ बैंक तथा वित्तीय संस्थाबाट ६२ आवेदनमार्फत ६ अर्ब ४१ करोड रुपैयाँको ट्रेजरी बोलकबोल भएकोमा ५० करोडको मात्रै बैंकहरुलाई दिइएको छ भने १ अर्ब ५० करोड राष्ट्र बैंक आफैँले खरिद गरेको छ । यसमा न्यूनतम ९.६९५७ प्रतिशत, अधिकतम ९.८४१ प्रतिशत र औसत ९.०२४६ प्रतिशत कायम भएको छ। 

राष्ट्र बैंकले यसअघि साउन १६ गते १० अर्ब १० करोड रुपैयाँ, साउन २३ गते ७ अर्ब १० करोड रुपैयाँ, साउन ३० गते १३ अर्ब रुपैयाँको ट्रेजरी बोलकबोल गरेको थियो। जसको ठूलो हिस्सा राष्ट्र बैंकले नै किनेको थियो।