– रेखा चन्द

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटकको ट्रेजरी बिल पनि आफैँले खरिद गरेको छ। 

राष्ट्र बैंकले ब्याजदर बोलकबोलमा बैंकहरुले मनोमानी गर्न थालेपछि पछिल्लो ट्रेजरी बिलको ठूलो हिस्सा पनि आफैँले खरिद गरेको हो। राष्ट्र बैंकले हिजो सोमबार नवीकरणका लागि ९१ दिने ७ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिलको बोलकबोल गरेको थियो। तर, बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बोलकबोलमा उच्च ब्याजदर माग गरेपछि राष्ट्र बैंक आफैँले ट्रेजरी बिल खरिद गरेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। 

‘बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको ब्याजदर उच्च प्रस्ताव गर्न थाले, त्यसमा सरकारलाई ठूलो भार पर्ने देखियो’, उनले भने, ‘ट्रेजरी बिलको कार्यविधिअनुसार त्यसलाई सन्तुलन राख्न राष्ट्र बैंक आफैँले खरिद गरेको हो।’

राष्ट्र बैंकले सोमबार जारी गरेको ट्रेजरीमा २७ बैंक तथा वित्तीय संस्थाहरुले १९ अर्ब ८२ करोड रुपैयाँबराबरको १३१ वटा बोलपत्र पेस गरेका थिए। 

यद्यपि, राष्ट्र बैंकले ५९ करोड रुपैयाँमात्र वोलपत्रदातालाई बेचेर ६ अर्ब ५१ करोड आफैँले खरिद गरेको सहप्रवक्ता पोखरेल बताउँछन्। ‘राष्ट्र बैंकले सोमबारको ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम १०.४७४९ प्रतिशत र अधिकतम १०.५०९० तथा औसत १०.४७७९ प्रतिशतमा स्वीकार गरेको छ’, उनले भने। 

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

राष्ट्र बैकले ब्याजदर बढ्न नदिन आफैँले ट्रेजरी बिल खरिद गर्नु उचित कदम रहेको पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री बताउँछन्। ‘राष्ट्र बैकले ब्याजदर बढ्न नदिन आफैँले ट्रेजरी बिल किनेको प्रस्टै छ, यो कदम उचित हो’, उनले भने। 

राष्ट्र बैंकले अघिल्लो ट्रेजरी बिल पनि खरिद गरेको थियो।