– रेखा चन्द

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले पुनः ‘डबल डिजिट’को ब्याजदर कायम गरी ट्रेजरी बिलमा आवेदन दिएका छन्। 

लामो समय एकल विन्दुुमा कायम रहेको ट्रेजरी बिलको ब्याजदर हिजो आइतबार बोलकबोल भएकोमा बैंक तथा वित्तीय संस्थाले अधिकतममा ११ प्रतिशतभन्दा बढी ब्याजदर माग गरेको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ। केन्द्रीय बैंकले आइतबार ११ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो। 

२८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल भोलि मंगलबार जारी हुँदैछ। 

राष्ट्र बैंकले पछिल्लोपटक ट्रेजरी लगातार आफैँले खरिद गरेर ब्याजदर एकल विन्दुमा झार्न सफल भएको थियो। ब्याजदर एकल विन्दुमा आइसकेपछि केन्द्रीय बैंकले केही समययता ट्रेजरीमा हस्तक्षेप नगरी बैंक तथा वित्तीय संस्थालाई नवीकरण गर्न दिएको थियो।
भोलि जारी हुने ट्रेजरीमा भने ११.२२१८ प्रतिशतसम्म ब्याज माग गरेपछि पुुनः राष्ट्र बैंकले हस्तक्षेप गरेको छ। राष्ट्र बैंकले ९१ दिने र १८२ दिने ट्रेजरीमा हस्तक्षेप गरेको विभागले जानकारी दिएको छ। 

केन्द्रीय बैंकका अनुुसार २८ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण गरेका छन्। यसमा ११ बैंक तथा वित्तीय संस्थाले ४७ वटा आवेदनमार्फत ४ अर्ब २५ करोड ७० लाख रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। न्यूनतम ८.७८०६ प्रतिशत, अधिकतम ९.१९९७ प्रतिशत र औसत ८.९३३५ प्रतिशत ब्याजदरमा बैंकहरुले नै ट्रेजरी बिल स्वीकार गरेको विभागले जनाएको छ। 

यस्तै ९१ दिने ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिलमा ९ बैंक तथा वित्तीय संस्थाले ४५ वटा आवेदनमार्फत बोलकबोल पेस गरेकोमा ३ अर्ब ११ करोडको ट्रेजरी बैंक तथा वित्तीय संस्थाले नविकरण गरेका छन् भने २ अर्ब ४२ करोडको ट्रेजरी राष्ट्र बैंकले खरिद गरेको हो। यसमा न्यूनतम ८.९९०० प्रतिशत, अधिकतम ११.२२१८ प्रतिशत र औसत ९.८७४७ प्रतिशत ब्याजदर कायम भएको छ।

त्यसैगरी १८२ दिने ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिलमा ७ बैंक तथा वित्तीय संस्थाले ३६ वटा आवेदनमार्फत बोलकबोल पेस गरेकोमा १ अर्ब ९१ करोडको ट्रेजरी बैंक तथा वित्तीय संस्थाले नविकरण गरेका छन्। २ अर्ब ३९ करोडको ट्रेजरी भने राष्ट्र बैंकले आफैँ खरिद गरेको हो। यसमा न्यूनतम ९.१००० प्रतिशत, अधिकतम ९.९९०१ प्रतिशत र औसत ९.६८७६ प्रतिशत ब्याजदर कायम भएको छ।

ट्रेजरीको ब्याजदर नियन्त्रण गर्न राष्ट्र बैंक आफैँ खरिद गर्ने गर्दछ। बैंक तथा वित्तीय संस्थाले बढी ब्याज माग गर्दा सरकारलाई बढी भार पर्ने हुनाले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको केन्द्रीय बैंकको भनाइ छ। 

चालुु आर्थिक वर्षको सुुरुआतदेखि हालसम्म राष्ट्र बैंकले १२ पटकमा ४१ अर्ब ६ करोड ५० लाखकाट्रेजरी बिल खरिद गरिसकेको छ। साउनमा मात्रै २ अर्ब १० करोड ५० लाखबराबरको ट्रेजरीमा राष्ट्र बैंकले हस्तक्षेप गरेको छ।

भदौमा ८ अर्ब ९५ करोड र असोजमा ४ अर्ब ८१ करोड बराबरको ट्रेजरी केन्द्रीय बैंकले किनेको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ।