रामप्रसाद खरेल/लेखक

‘हामी आफूलाई विजेताका रुपमा बुझ्न चाहन्छौँ तर सफल व्यापारीहरु सधैँ आफ्नो घाटामा ध्यान केन्द्रित गरिरहेका हुन्छन्’, – पिटर बोरिस, मुख्य रणनीतिकार, क्वाड समूह।

यो भनाइ सेयर बजारसँग मेल खान्छ। बजार भनेको क्रेता र बिक्रेताको लेनदेन गर्ने थलो हो। अन्य बजारमा वस्तु वा सेवासँग र सेयर बजारमा सेयरको भ्यालुसँग पैसा साटिन्छ। ट्रेडरले जहिले पनि सेयरको भ्यालु कति छ थाहा पाउनुपर्छ। बजार माग र आपूर्तिमा चल्ने हो तर कहिलेकाहीँ अन्य बाहिरी कारणहरुले पनि प्रभाव पार्दछ। 

सेयर बजारमा किन्नेभन्दा बेच्ने कला महत्वपूर्ण हुन्छ।

के हो ट्रेडिङ प्लान ?

ट्रेडिङ प्लान भनेको लक्ष्यसहित कारोबारको एउटा रोडम्याप हो। यसमा कुन, किन, कति, कसरी र कहिलेसम्म आदि प्रश्नहरुको स्पष्ट जबाफ हुन्छ। ट्रेडिङ प्लानले हामीलाई धैर्यता र लगनका साथ काम गर्न प्रेरित गर्छ। ट्रेड, नगद प्रवाह र वित्तीय विवरणहरु दुरुस्त थाहा पाउन पनि ट्रेडिङ प्लानको आवश्यकता पर्दछ।

योजनामा पैसा व्यवस्थापन, खरिद–बिक्री आदिको खाका तयार पारिएको हुन्छ।

हामीले ट्रेडिङका विभिन्न तरिकाहरु अपनाउन सक्छौँ तर जुन तरिका अपनाए पनि योजना चाहिन्छ। प्राविधिक रुपमा ट्रेडिङका प्रकारहरु इन्ट्र डे ट्रेडिङ, स्विङ ट्रेडिङ, पुलब्याक ट्रेडिङ, प्राइस एक्सन ट्रेडिङ र पोजिसन ट्रेडिङ आदि हुन्।

ट्रेडिङ प्लान बनाउँदा के–के कुरामा ध्यान दिने ?

सेयर कारोबारका तीन अवस्था हुन्छन्। किन्ने, होल्ड गर्ने र बेच्ने। यी तीन कुराका बारेमा ज्ञान छैन भने ढिलोचाँडो घाटा हुन्छ। 

हामीलाई थाहा छ सेयर कारोबार गर्नेले टेक्निकल एनलाइसिस जान्नै पर्छ। किन्न, होल्ड गर्न र बेच्न संकेत गर्ने टेक्निकल चार्टले नै हो। कारोबारका लागि चार्टजस्तो अरु कुरा भरपर्दो हुँदैन।

धेरै नयाँ लगानीकर्ताले गर्ने गल्ती भनेकै चार्टलाई फ्लो गर्न नजान्नु र नगर्नु हो। सामाजिक सञ्जाल, समाचार, युट्युब, साथीभाइका कुरा, ब्रोकर तथा पुराना लगानीकर्ताको सिफारिस र अनुमानका भरमा कारोबार गर्नु अर्को गल्ती हो। यी दुवै गल्तीबाट जोगिएर कारोबार गर्ने हो भने अधिकत्तर समय नाफा बुक गर्न सकिन्छ।

फन्डामेन्टल एनलाइसिस र पैसाको व्यवस्थापन सीप आवश्यक छ। यी सीपले मजबुत कम्पनी छान्न र आफ्नो पैसा सही तरिकाले लगानी गर्न सिकाउछन्।

योजना विना कुनै पनि स्टक नकिन्नु नै आधारभूत रुपमा हामी स्मार्ट ट्रेडर हुनु हो। योजनालाई दुई भागमा बाँडिएको छ। पहिलो मुख्य योजना र दोस्रो पूरक योजना। 

क) मुख्य योजना

कुनै पनि कार्य पूरा गर्नका लागि तयार पारिएको प्रमुख मार्गचित्र नै मुख्य योजना हो। यसैको आधारमा हामी लक्ष्य प्राप्त गर्न अघि बढ्छौँ। मुख्य योजनाभित्र विशेषतः निम्न कुराहरुलाई समेटिन्छ–

१. लगानी रकम 

हामीसँग कत्ति रकम छ ? त्यसमध्ये सेयर कारोबारमा लगानी गर्ने रकम कति हो ? आफ्नै बचतबाट लगानी गरिरहेका छौँ कि ऋणमा ? यदि ऋण लिएको हो भने कति प्रतिशत ब्याजको ऋण छ ? कत्ति समयमा ऋण फिर्ता गरिसक्नुपर्छ ? यी कुराहरु लिखित हुनपर्छ। यो तयारीले हाम्रो पैसाबाट अधिकतम नाफा लिन सक्छौँ। पैसाको व्यवस्थापनमा ध्यान दिन चुक्यो भने घाटामै सेयर बेच्नुपर्ने बाध्यताहरु आउन सक्छन्।

२. समय र नाफाको प्रतिशत

हामीले कत्ति समयका लागि स्टकहरु किन्दैछौँ ? इन्ट्रा डे ट्रेडिङ (यो नेपालमा छैन) ? साप्ताहिक वा मासिक ? समय निर्धारण र नाफाको लक्ष्यले सेयर बेच्न सजिलो पर्छ।

कारोबार गर्ने भनेकै नाफाका लागि हो। योजनामा हामीले कति प्रतिशत नाफामा कारोबार गर्ने हो निर्धारण गर्नुपर्छ। लगानीको Compound Annual Growth Rate (CAGR) पनि हेर्नुपर्छ। लगानीले खुद नाफा कति कमाइरहेको छ ? यसको वित्तीय विवरण राख्नुपर्छ।

आफ्नो लक्ष्य पुगेपछि स्टकलाई बेच्नुपर्छ। अझै बढ्छ भन्दै लोभ गर्न लाग्नुहुँदैन।

४. स्टप लस

सेयर कारोबारमा नाफाको अर्को पाटो स्टप लस हो। घाटाका लागि सेयर किनेको हुँदैन तर घाटा हुनसक्छ। हामीले किनेको स्टक घट्न थाल्यो भने कति प्रतिशतसम्म झर्न दिने हो निश्चित गर्नुपर्छ। स्टप लस हिट भयो भने बेचेर अर्को स्टक खरिद गर्नुपर्छ। स्टप लसले धेरै घाटा हुनबाट बचाउँछ। स्टप लस नगर्नेहरुले धेरै कमाइसकेपछि पनि कुनै समयमा सबै नाफा गुमाउन सक्छन्। 

५. इन्डिकेटर

सेयर बजारको चार्टमा धेरै प्रकारका इन्डिकेटर हुन्छन्। सबै इन्डिकेटर एकैपटक प्रयोग गर्न झन्झटिलो हुन्छ। चार वा पाँचवटा जति इन्डिकेटरको प्रयोग गरेर कारोबार गर्न सकिन्छ। तर, सबै इन्डिकेटरको प्रयोग गर्न जान्नुपर्छ। सबै इन्डिकेटरले आ–आफ्नो तरिकाले संकेत गरिरहेका हुन्छन्। जस्तै– क्यान्डिल, आरएसआई, एडीएक्स, एमएसीडी, बोलिंगर ब्यान्ड, मुभिङ एभ्रेज आदि। कुन–कुन इन्डिकेटरलाई फ्लो गर्ने अध्ययनपश्चात योजनामा निश्चित गर्नुपर्छ।

६. व्यावसाय केन्द्रित

खास ट्रेडर बन्न पैसामात्र लगानी गरेर हुँदैन। पैसासँगै समय पनि लगानी गर्नुपर्छ। आफूसँग समय छैन भने ट्रेडिङभन्दा इन्भेस्टिङतिर सिफ्ट हुँदा तुलनात्मक रुपमा राम्रो हुन्छ। कारोबारमा कसरी केन्द्रित हुने ? समय र पैसाको व्यवस्थापन कसरी गर्ने योजनामा स्पष्ट उल्लेख गर्नुपर्छ।

व्यवसायलाई वृद्धि गर्न निरन्तर सिक्दै जानुपर्छ। प्रविधिको प्रयोगलाई उच्चतम सदुपयोग गर्न सकिए व्यवसायमा बढी नाफा आर्जन गर्न सकिन्छ। 

७. स्वामित्व

सेयरको कारोबार व्यक्तिगत कि संस्थागत रुपमा गर्ने ? यदि कम्पनीमार्फत हो भने एकल कि साझेदारीमा गर्ने ? यस्ता सवालहरु योजनामा स्पष्ट हुन आवश्यक छ।

ख) पूरक योजना

मुख्य योजनालाई सफल पार्न पूरक योजना तयार गरिन्छ। सेयर कारोबारीले पनि पूरक योजना बनाउनुपर्छ। 

हामीले ट्रेडको योजना बनाउँछौँ र सोहीअनुसार कारोबार पनि गर्दै जान्छौँ। कुनै बेला हामीले नसोचेका घटनाहरु आइदिन सक्छन्। ती घटनाले हाम्रो कारोबारमा नकारात्मक असर पार्छन्। त्योबेला हामी कसरी अघि बढ्ने पूरक योजनामा उल्लेख गर्नुपर्छ। पूरक योजनामा निम्न कुराहरुलाई समावेश गर्नुपर्छ–

१. स्वास्थ्य

हाम्रो स्वास्थ्यमा आएको खराबीका कारण हामीले समय दिन नसक्दा नोक्सान हुनसक्छ। यस्तो अवस्थामा कसरी कारोबार गर्ने पूरक योजनामा उल्लेख गर्नुपर्छ। 

२. आर्थिक मन्दी

कुनै कारणबश देशको आर्थिक अवस्थामा असामन्य गिरावट आएमा त्यसको प्रभाव सेयर बजारमा पनि पर्छ। यस्तो भएमा आफ्नो लगानी कसरी सुरक्षित राख्ने भन्नेबारेमा तयारी हुनुपर्छ।

३. कम्पनीहरु धेरै घाटामा गएमा

कम्पनीहरु घाटामा गएको पहिले नै थाहा नहुन पनि सक्छ। त्यस्तो भएमा कम्पनी सिफ्ट गर्ने रणनीति तयार पार्नुपर्छ।

४. ब्याजदर वृद्धि

ऋण रकम लिएर कारोबार गरिएको छ भने ब्याज वृद्धिले हाम्रो खुद नाफामा कमी आउँछ। ब्याजदर बढ्दा सेयर बजारमा नकारात्मक असर पर्छ। सामन्यतया ब्याज बढ्दा बजार घट्ने र ब्याज घट्दा बजार बढ्ने हुन्छ। आफ्नै बचतले कारोबार गरिएको छ भने पनि यो ब्याज बढेको समयमा हाम्रो मुख्य योजनालाई तल पर्न नदिन के गर्ने ? यसको खाका तयार गर्नुपर्छ।

५. राजनीतिक परिवर्तनहरु

राजनीतिक परिवर्तनहरु सधैँ हुँदैनन्। भएको बेलामा सोही समयमा शीघ्र निर्णय लिनुपर्ने हुन्छ। यसका लागि इतिहासमा भएका राजनीतिक परिवर्तनमा बजारको अवस्था कस्तो भएको थियो जानकारी लिनुपर्छ। त्यसले भविष्यमा हुने जोखिम कम गर्न सजिलो हुन्छ।

६. महामारी 

महामारी कहिले आउँछ हामीलाई थाहा हुँदैन्। जस्तै कोरोना आउने कुरा हामीलाई थाहा थिएन। महामारीको बेलामा पनि आफ्नो पोर्टफोलियो र कारोबारलाई सुरक्षित राख्ने पूरक योजना हामीलाई चाहिन्छ।

७. नीतिगत परिवर्तन

नीतिगत परिवर्तनले तत्काल र भविष्यमा भिन्न प्रभाव पारिरहेको हुन्छ। राज्यको नीति–नियमलाई नकारे कारोबार गर्न असम्भव छ। बरु हामीले राज्यका नीति–नियममा बसेर कसरी नाफा कमाउन सकिन्छ भन्ने रणनीति तयार गर्नुपर्छ।

८. हल्ला 

सेयर बजारमा हल्ला खतरनाक भाइरस हो। नेपालको सेयर बजारमा त हल्लाले एकैदिनमा ठूलो असर पारिहाल्छ। कारोबारीहरुले हल्लाबाट सधैँ बच्ने योजना तयार गर्नुपर्छ। हल्लाकारहरुले नै सेयर बजारलाई जुवाको खाल हो भन्छन्।

९. अन्य विषम परिस्थितिहरु

माथिका कुराहरुभन्दा अन्य घटनाहरु पनि हुनसक्छन्। त्यसका लागि पनि हामीमा पूर्व तयारी हुनुपर्छ।

१०. थप लगानी

कारोबार गर्दै जाँदा हामीलाई थप लगानी आवश्यक हुन्छ। थप लगानीसम्बन्धी कुरा पूरक योजनामा राख्नुपर्छ।

अन्त्यमा

योजना र पूरक योजनासमेत तयार गरेर सेयर कारोबार गर्दा नोक्सान हुने सम्भावना अति न्यून हुन्छ। कारोबारमा कमाएको नाफालाई अर्को क्षेत्रमा पनि लगानी गर्दै जानु उपयुक्त हुन्छ। यसले लगानीको विविधीकरण हुन्छ। नाफाको पैसा घर–जग्गामा लगानी गर्न सकिन्छ। अन्य व्यापार–व्यवसायमा लगानी गर्न सकिन्छ। पोर्टफोलियोको रकममात्र नहेरी त्यसलाई वास्तविक वस्तुगत नाफामा पनि परिवर्तन गर्नुपर्छ। आवश्यक परेको बेलामा बजारबाट बाहिर ल्याएको लगानीलाई पुनः प्रयोग गर्न सकिन्छ।