काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क अन्ततः ट्विटरको मालिक बनेका छन्। 

मस्कले ट्विटर खरिदको अन्तिम सम्झौता गरेका छन्। योसँगै उनी ट्विटरका मालिक बनेका हुन्। 

अन्तिम सम्झौताको एक दिनअघि मस्कले ट्विटर किन्नुको पछाडि आफ्ना उद्देश्यहरु खुलाएका हुन्। मस्कले आफ्नो ट्विटर अकाउन्टमा एउटा पोस्ट जारी गर्दै यो प्लेटफर्मका बारेमा आफ्नो धारणा व्यक्त गरेका छन्।

मस्कले बिहीबार माइक्रोब्लगिङ प्लेटफर्म ट्विटर किन्नुको पछाडिको उद्देश्य व्याख्या गर्न एउटा पोस्ट गरे। यसमा मस्कले प्लेटफर्ममा विज्ञापनका बारेमा के सोच्छन् भन्ने पनि बताए। उनले पोस्टमा लेखेका छन्, ‘मैले किन ट्विटर किनेको भन्नेबारेमा धेरै अड्कलबाजी गरिएको थियो तर तीमध्ये अधिकांश गलत साबित भएका छन्।’

मस्कले भनेका छन्, ‘मैले ट्विटर किन्नुको उद्देश्य हाम्रो भविष्यको सभ्यतामा साझा डिजिटल स्थान होस्। जहाँ विभिन्न विचारधारा र विश्वासका मानिसले कुनै पनि प्रकारको हिंसा बिना स्वस्थ छलफल गर्न सकून्।’

टेस्लाका सीईओ मस्कले पोस्टमा थप लेखेका छन्, ‘अहिले ठूलो खतरा छ कि सोसल मिडिया कट्टर दक्षिणपन्थी र कट्टर वामपन्थीबीच विभाजित हुनेछ र हाम्रो समाजमा घृणा फैलाउनेछ। धेरैजसो परम्परागत संस्थाहरुले थप क्लिकको चाहमा यसो गरेका छन् तर त्यसो गर्दा सञ्चारको अवसर कतै हराएको छ।’

मस्कले ट्विटरलाई सबैभन्दा सम्मानित विज्ञापन प्लेटफर्म बनाउन चाहेको पनि उल्लेख गरेका छन्। 

मस्कले ट्विटर पैसा कमाउने उद्देश्यले आफूले नकिनेको बताए। ‘मैले यो खरिद सम्झौता मानवताका लागि गरेँ, जुन मलाई मन पर्छ। म यो अत्यन्त नम्रताका साथ गर्दैछु किनकि यस्तो लक्ष्य प्राप्त गर्न असफल हुन सक्छ’, मस्कले भनेका छन्, ‘यो विचार गर्नुपर्छ।’

डेलावेयर अदालतले मस्कलाई वर्तमान सर्तहरुमा अक्टोबर २८ सम्म ट्विटर सम्झौतालाई अन्तिम रुप दिन भनेको थियो। त्यसको एक दिन अगाडि उनले ट्विटरमा यो पोस्ट सार्वजनिक गरेका हुन्।

मस्कले यो पोस्ट गर्नुअघि आफ्नो ट्विटर खातामा एक भिडियो पोस्ट गरेका थिए। जसमा उनी ट्विटरको मुख्यालयमा प्रवेश गरिरहेको देखिन्छ। –एजेन्सी