काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटर किनेपछि कम्पनीमा धेरै कुरा परिवर्तन गर्न थालेको छ। 

यो प्रक्रियामा मस्कले सबैभन्दा पहिले कम्पनीका उच्च अधिकारीहरुलाई पदबाट बर्खास्त गरे। मस्कको टोलीले आज शुक्रबार कम्पनीमा व्यापक रुपमा कर्मचारी कटौती गर्दैछ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्विटरले आफ्ना कर्मचारीलाई जागिर सुरक्षित छ वा छैन भन्ने कुरा शुक्रबार ई–मेलमार्फत जानकारी दिनेछ। कर्मचारीले यसबारे ई–मेलमार्फत स्थानीय समयअनुसार बिहान ९ बजे (नेपाली समयअनुसार राति ९ः४५ बजे) सम्ममा जानकारी पाउने बताइएको छ।

ई-मेलमा ट्विटरका तर्फ लेखिएको छ, ‘ट्विटरलाई अझ राम्रो बनाउनका लागि हामी शुक्रबार हाम्रो विश्वव्यापी कर्मचारी घटाउने कठिन प्रक्रियाबाट गुज्रनेछौँ।’

ट्विटरले आफ्ना कार्यालयहरु तत्कालका लागि बन्द हुने र ट्विटरको प्रणाली र ग्राहकको डाटासहित प्रत्येक कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आइकार्डलाई निष्प्रभावी गरिएको हुनाले आइकार्डमार्फत कार्यालयमा प्रवेश गर्न सम्भव नहुने जनाएको छ। 

ट्विटरले पनि काम नगुमाएका कर्मचारीलाई आफ्नो कामको ई-मेलमा सूचित गरिने जनाएको छ। जसको जागिर जानेछ, उनीहरुलाई व्यक्तिगत ई-मेलमा जानकारी गराइने ट्विटरले जनाएको छ। –एजेन्सी