काठमाण्डौ । एलन मस्क अहिले पनि निरन्तर चर्चामा छन्। ट्विटर किनेर उनी लगातार नयाँ–नयाँ प्रयोग गरिरहेका छन्। 

कम्पनीले सबै प्रयोगकर्तालाई सशुल्क ब्लु टिक दिनका लागि ट्विटर ब्लु सुरु गरेको थियो। यसबाट प्रयोगकर्ताले सब्सक्रिप्सन लिएर ट्विटरमा ब्लु टिक्स प्राप्त गर्न सक्थे। तर, दुरुपयोग भएपछि यो सेवा बन्द गर्नुपरेको थियो।

अब कम्पनीले ट्विटर ब्लु सब्सक्रिप्सन सेवा पुनः सुरु गर्न लागेको छ। तर, मस्कले विगतका गल्तीबाट पाठ सिकेको देखिन्छ। मस्कले ट्विटर ब्लू फिचर डिसेम्बर २ मा ल्याइने स्पष्ट पारेका छन्।

यसपटक कम्पनीले ट्विटर ब्लु सब्सक्रिप्सन सुविधालाई नयाँ तरिकामा ल्याएको छ। ट्विटरले व्यापारका लागि गोल्ड चेक दिनेछ। जब कि सरकारका लागि ग्रे चेक मार्क दिइनेछ। अन्य प्रयोगकर्ताका लागि भने ब्लु चेक मार्क दिइनेछ। 

यसपटक कम्पनीले सब्सक्रिप्सन लिँदामात्रै कुनै टिक दिने छैन। मस्कले खाताका लागि चेक सक्रिय गर्नुअघि यसलाई म्यानुअल रुपमा प्रमाणित गरिने स्पष्ट गरे। उनले ट्विटर ब्लु लन्चमा भएको ढिलाइप्रति माफी पनि मागेका छन्।

यही महिना ट्विटरले नयाँ ट्विटर ब्लु सब्सक्रिप्सन सुविधा जारी गरेको थियो। प्रयोगकर्तालाई मासिक ८ डलर खर्च गरेबापत निलो टिक दिइँदै आएको थियो। यसपछि धेरै फेक प्रोफाइलले पैसा तिरेर ब्लु टिक लिएका थिए।

यी फेक अकाउन्टबाट धेरै फेक ट्विट गरिएको थियो। जसका कारण ओरिजिनल अकाउन्टले क्षति व्यहोर्नुपरेको थियो। त्यसपछि ट्विटर ब्लु फिचर बन्द गर्नुपरेको थियो। 

अब कम्पनीले यसलाई नयाँ ढंगले डिसेम्बर २ मा लन्च गर्नेछ। यसपटक विगतको जस्तो समस्या नआउने विश्वास लिइएको छ। –एजेन्सी