काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले अफिसमा रात बिताइरहेका छन्। उनी आफैँले यसबारे खुलासा गरेका हुन्। 

मस्कले आफ्नो एक ट्विटमा आफू सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा सुतिरहेको बताए। नयाँ मालिकको डरले ट्विटरका कर्मचारीहरु अफिसमै सुत्न बाध्य भएको खबर आएपछि उनको ट्विट सार्वजनिक भएको हो।

बिजनेस इनसाइडरको रिपोर्टका अनुसार ट्विटरको जिम्मेवारी लिएपछि मस्कले यसलाई नयाँ रुप दिनका लागि एकपछि अर्को गर्दै परिवर्तन गर्दै गइरहेका छन्। उनका कतिपय निर्णयको आलोचना पनि भइरहेको छ। 

मस्कको अपरेसन क्लिनबाट बच्न कम्पनीका कर्मचारी राति अफिसमा सुत्ने गरेको खबर आएको थियो। तर, कर्मचारीको कुरा छाड्नुहोस् अहिले ट्विटरका हाकिमले पनि आफूले अफिसमै रात बिताउने गरेको स्वीकार गरेका छन्। यसका कारण स्पष्ट गर्दै उनले आफ्नो ट्विटमा लेखेका छन्, ‘कम्पनीमा सबै कुरा ठीक नभएसम्म म ट्विटरको मुख्यालयमा सुतिरहन्छु।’ तर, यो ट्वीट पनि पछि हटाइएको छ। 

माइक्रोब्लगिङ साइट ट्विटरको जिम्मेवारी लिएपछि मस्कले ट्विटरमा एकपछि अर्को ठूलो कटौती गर्दै कम्पनीमा रहेका कर्मचारीलाई कामको समयसीमा दिएका थिए। 

सामाजिक सञ्जाल कम्पनीको अधिग्रहण गरेको एक हप्तापछि एक तस्बिर बढ्दो भाइरल भइरहेको छ। जसमा एउटा ट्विटर अफिसमा एकजना कार्यकारीलाई अफिसमा स्लिपिङ झोलामा सुतिरहेको देखाइएको छ। तर, यो तस्बिर कहिले र कुन ट्विटर अफिसको हो भन्न गाह्रो छ।

ट्विटर टेकओभरपछि मस्कले हतारमा जारी गरेको आदेश कम्पनीमा काम गर्ने कर्मचारीका लागि पहाड खसेजस्तै थियो। ट्विटरको आधा कर्मचारीलाई हटाएपछि मस्कले विगतमा अर्को आदेश जारी गरेका थिए। यसमा उनले कडा स्वरमा कम्पनीका कर्मचारीले अब हप्ताको ८० घन्टा काम गर्न तयार हुनुपर्ने बताएका थिए। यसको मतलब कर्मचारीले हरेक दिन १६ घन्टा काम गर्नुपर्छ। यससँगै मस्कले घरबाट काम गर्ने सुविधामा ब्रेक लगाउने निर्णय पनि गरेका थिए। – एजेन्सी