काठमाण्डौ । ट्विटरका बारेमा अहिले निकै चर्चा चलिरहेको छ। एलन मस्कले यसमा धेरै परिवर्तन गर्दैछन्। तर, नेटिभ माइक्रो ब्लगिङ प्लेटफर्म ‘कू’ले यसको फाइदा पाइरहेको देखिन्छ। 

कम्पनीले ‘कू’ विश्वकै दोस्रो ठूलो माइक्रो ब्लगिङ प्लेटफर्म बनेको दाबी गरेको छ। अर्थात् ट्विटरपछि कूको सबैभन्दा धेरै प्रयोगकर्ता छन्। 

कू मार्च २०२० मा नेटिभ माइक्रो–ब्लगिङ एपका रुपमा लन्च गरिएको थियो। यसलाई ५० मिलियनभन्दा बढी पटक डाउनलोड गरिएको छ। 

कम्पनीले भर्खरै ४ नयाँ फिचर ल्याएको छ। जसमा कू सेड्युल, १० प्रोफाइल फोटा र अन्य दुई फिचर छन्। कम्पनीको वेबसाइटमा दिइएको जानकारीअनुसार कू १० भन्दा बढी भाषामा उपलब्ध छ। भारतबाहेक १०० भन्दा बढी देशका प्रयोगकर्ताले यसलाई प्रयोग गर्छन्।

ट्विटरमा ब्लु टिक चार्ज लगाएपछि कूले कुनै शुल्क नलिने घोषणा गरेको थियो। यसमा लोकप्रिय व्यक्तित्वलाई निलो टिकको सट्टा पहेँलो टिक लगाइन्छ। यसमा कम्पनीले सेल्फ भेरिफिकेसनको अप्सन पनि दिएको छ। जसका कारण प्रयोगकर्ताले आफूलाई प्रमाणित गरेर ग्रिन टिक प्राप्त गर्न सक्छन्।

कम्पनीले अहिलेसम्म ७ हजार ५०० भन्दा बढी व्यक्तित्वलाई कूमा पहेँलो टिक्स दिइएको जनाएको छ। जहाँ लाखौँले आफूलाई प्रमाणित गरेर ग्रिन टिक पाएका छन्। कूका सहसंस्थापक अप्रमेय राधाकृष्णले ३ वर्षभित्रमा दोस्रो ठूलो माइक्रो ब्लगिङ प्लेटफर्म बन्नुले प्रयोगकर्ताले आफूहरुमाथि विश्वास गरेको देखाएको बताएका छन्। –एजेन्सी