काठमाण्डौ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्वीट गरेर एक कम्पनीलाई ५ मिनेटमै अरबौं रुपैयाँको चूना लगाइदिएका छन् । यो पटक ट्रम्पका कारण जसले अरबौं रुपैयाँ केही मिनेटमा गुमाउनुपर्यो, त्यो हो अटोमोवाइल क्षेत्रको एक चर्चित र बलियो टोयोटा कम्पनी । कम्पनीको बारेमा ट्रम्पले गरेको एक नकारात्मक ट्वीटले केवल ५ मिनेटमा सो कम्पनीको सेयरको मूल्यमा निकै ठूलो पहिरो गयो र कम्पनीले ५ मिनेटको अवधिमा १.२ अर्ब डलर(करिब १३ लाख ४ हजार ९ सय ६९ करोड रुपैयाँ) गुमाउनु पर्यो ।

खासमा मेक्सिकोको एक राज्य बाजा क्यालिफोर्नियामा टोयोटाले एउटा नयाँ प्लान्ट बनाउने र त्यहाँ सर्ने योजना बनाइरहेको छ । कम्पनीको पहिलादेखि नै यहाँ अर्को एक प्लान्ट पनि रहेको छ । ट्रम्पले टोयोटालाई मेक्सिको नजान चेतावनी दिएका छन् र उनले आफ्नो ट्वीटमार्फत प्रत्येक साल कम्पनीलाई अर्को नयाँ प्लान्ट लगाउनबाट रोक्ने कुरा गरेका छन् । 

यस्तो थियो विषय
एक अटो उद्योगको कार्यक्रमको दौरान जब टोयोटा मोटरका प्रसिडेन्ट अकियो टोयोटासँग मेक्सिको जाने योजनाको बिषयमा पत्रकारहरुले प्रश्न गरेका थिए । सो क्रममा अकियोले भनेका थिए–‘हामी हाम्रो विकल्पको बिषयमा विचार गर्नेछौ । साथै, अमेरिकाका आगामी राष्ट्रपतिले कस्तो नीति बनाउनेछन्,  यो विषयमा समेत ध्यान दिनेछौ ।’ 

अकियोको यो अभिव्यक्तिप्रति  होण्डा मोटर कम्पनीका प्रेजिडेन्ट तथा सीइओले ट्वीटरमा भनेका छन्–‘हामी नर्थ अमेरिका तथा यूरोपजस्ता बजारहरुका लागि कारहरुको निर्माण गर्छौ र निकट भविष्यमै यसलाई परिवर्तन गर्ने बिषयमा हाम्रो कुनै सोंच वा योजना छैन ।’ 

यी कुराहरुको प्रतिक्रियामा ट्रम्पले ट्वीट गर्दै भनिदिए–‘यस्तो कुनै बाटो छैन, जसकारण  यी कम्पनीहरुको योजना पूरा होस् । अमेरिकामा प्लान्ट निर्माण गर वा धेरै सीमा कर तिर, यो संभव छैन ।’ ट्रम्पले यसरी ट्वीट गरेको ५ मिनेटभित्र टोयोटाको सेयरमा भारि गिरावट आएको अन्तराष्ट्रिय संचारमाध्यमको मिडिया रिपोर्टहरुमा उल्लेख छ । ट्वीटपछि टोयोटाको सेयरमा ०.५ प्रतिशतको गिरावट आयो, त्यो पनि ५ मिनेट भित्र र टोयोटाले यो अवधिमा १.२ अर्ब डलर  गुमाउनुपर्यो । 

अन्य कम्पनी पनि ट्रम्पको शिकार
ट्रम्पले यसअघि समेत आफ्नो ट्वीटबाट कयौं कम्पनीलाई शिकार बनाइसकेका छन् । उनको एक ट्वीटले कयौं कम्पनीले अरबौं गुमाइसकेका छन् । गत वर्षको डिसेम्बरमा उनको एक ट्वीटले एरोस्पेस कम्पनी तथा लकहिड कम्पनीको मार्केट सेयरको मूल्य ४ प्रतिशतसम्म गिरावट आएको थियो । सो क्रममा यी कम्पनीहरुले ३.५ अर्ब अमेरिकन डलर गुमाएका थिए । यसअघि जहाज बनाउने अमेरिकी कम्पनी बोइङलाई समेत ट्रम्पले क्षति पुर्याएका थिए । उनको ट्वीटका कारण यो कम्पनीको समेत सेयरको मार्केट भ्यालू १ अर्ब डलर घटिसकेको छ ।