काठमाण्डौ । माइक्रोब्लगिङ कम्पनी ट्वीटरले पहिलोपटक नाफा कमाएको छ । बाँकी सोसल साइटभन्दा पछाडि रहेको ट्वीटरले यो त्रैमासमा नाफा कमाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

सन–फ्रान्सिस्कोको कम्पनी ट्वीटरले चौथो त्रैमासमा ९१ अर्ब डलर आर्जन गरेको छ । २०१३ मा पहिलोपटक पब्लिक हुने कम्पनीको यो पहिलो सकारात्मक खूद नाफा हो । ट्वीटरले अघिल्लो वर्षको यही अवधिको तुलनामा आफ्नो आम्दानीमा २ प्रतिशतको वृद्धि हासिल गरेको छ । कम्पनीको यो त्रैमासको आम्दानी आशातित भन्दा ७३२ अर्ब डलरले बढी हो ।

ट्वीटर प्रयोगकर्ताको संख्या ३३ करोड रहेको छ । यो संख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ४ प्रतिशतले बढी हो । ट्वीटरले सेलिब्रेटी, पत्रकार, नेताहरुलाई आफ्ना प्रयोगकर्ता बनाउन गएका वर्षमा जुन सफलता प्राप्त गर्यो, त्यो तुलनामा उसको आम्दानीमा कमाल देखाउन सकेको थिएन । 

ट्वीटरका सीइओ ज्याक डर्सीले खुशी व्यक्त गर्दै भनेका छन्–‘यो वर्षकै मजबुत सुरुवात हो । हामीले २०१७ मा जे जस्तो प्रगति गर्यौ, त्यसमा म गर्व गर्छु र आगामी यात्रा सहज र अझ सुनौलो देखेको छु।’ 

आउनुहोस् हामी पनि जानौं, के कारणले ट्वीटरले पहिलोपटक नाफा कमाउने सफलता पायो:

१.अमेरिका भन्दा बाहिर बढ्यो आम्दानी
ट्वीटरको अमेरिकाबाट हुने आम्दानीमा ८ प्रतिशतले कमी आएको छ । तर, अमेरिका भन्दा बाहिरबाट हुने आम्दानी भने १७ प्रतिशतले बढेको छ, जसबाट उसले राम्रो नाफा कमाएको छ । जापानमा मात्र ट्वीटरको आम्दानी ३४ प्रतिशतले बढेको छ । 

२.विज्ञापन लक्ष्य
ट्वीटरका अनुसार आम्दानीमा बढोत्तरी कम्पनीको राम्रो विज्ञापन नीतिका कारण समेत संभव भएको हो । ट्वीटरले डेटाको सहायताले विज्ञापनलाई सही ढंगले टार्गेट गर्न सक्यो, यो प्रक्रियालाई ‘मसिन लर्निङ’ समेत भनिन्छ । यहीकारण ट्वीटरमा राखिएका विज्ञापनहरुमा क्लिक्सहरु बढे । यसको अर्थ प्रयोगकर्तालाई उनीहरुले मन पराउने त्यस्ता एडहरु मात्र देखाइयो, जसमा क्लिक आउने बढी अवसर होस् । भिडियो विज्ञापनबाट समेत कम्पनीलाई निकै ठूलो फाइदा भयो । 

सेयरमा उछाल
पहिलोपटक नाफा कमाएको खबर सनसनी भएपछि ट्वीटरको सेयर मूल्यमा समेत उछाल आएको छ । शुक्रबार ट्वीटरको सेयर मूल्य २ वर्षकै उचाईमा पुुगेको संचारमाध्यमहरुले जनाएका छन् । एकैदिन ट्वीटरको सेयर मूल्यमा १५ प्रतिशतको उछाल देखिएको हो ।