काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त ठमेल रेमिट प्रालि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नयाँ प्राविधिक सदस्यका रुपमा जोडिएको छ। 

अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’का लागि आन्तरिक च्यानलका रुपमा एनसीएचएलको नेसनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको छ। एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिका (यूएसए) बाट पठाएको पैसा अब केही सेकेन्डमै नेपालमा प्राप्त सकिनेछ।

एनपीएससँगको सहकार्यबाट उत्साहित ठमेल रेमिटका सहसंस्थापक बाल के जोशीले भने, ‘यस सहकार्यले ठमेल रेमिटलाई अमेरिकादेखि नेपालसम्मको मार्गमा गैरकार्डमा आधारित, बैंक–टु–बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर कम्पनी बनाउँछ। सामान्यतया यस प्रकारको रियल टाइम ट्रान्सफर सुविधा महँगो शुल्क लाग्ने डेबिट र क्रेडिट कार्ड नेटवर्कमा मात्रै उपलब्ध छन्। अमेरिकामा भएका नेपालीहरुलाई अब अझै छिटो र चुस्त रुपमा नेपालका जुनसुकै कुनाकाप्चामा पैसा पठाउने सेवा प्रदान गर्न सक्नेछौँ भन्नेमा हामी विश्वस्त छौँ।’

संयुक्त राज्य अमेरिकाको नेसनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्ष रुपमै भए पनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडीएको भएको यो पहिलोपटक हो। यो आबद्धता नेपालमा डिजिटल रेमिट्यान्सको लागि एउटा महत्वपूर्ण कदम हो। एक रेमिटेन्स प्रदायकका रुपमा यस कार्य गर्न सफल भएकोमा ठमेल रेमिट गर्व गर्दछ।

अब ठमेल रेमिटले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएसअन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्नेछ। यसअन्तर्गत ठमेल रेमिटले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरु आफ्ना ग्राहकका बैंक खाताहरुबीच सोझै गर्न सक्नेछ। 

यसका साथै यो सहकार्यले ठमेल रेमिटलाई प्रत्यक्ष बैंक खातामा आधारित रेमिट्यान्सका लागि ५९ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको फराकिलो नेटवर्कमा पनि पहुँच प्रदान गरेको छ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई र एनपीएसको अंगको रुपमा रहेको छ। यसमार्फत रियल टाइम भुक्तानी तथा नन–रियल टाइम भुक्तानीका विभिन्न भुक्तानी उपकरणमार्फत गरिने व्यवस्था रहेको छ। यसमा हाल ५९ सदस्य बैंक तथा वित्तीय संस्था र ७३ भन्दा बढी गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट वा प्राविधिक सदस्यका रुपमा आबद्ध छन्। हाल १३ वटा रेमिटेन्स कम्पनीले आफ्नो सम्बन्धित सेटलमेन्ट बैंकहरुमार्फत एनसीएचएलका भुक्तानी प्रणालीहरुको प्रयोग गरी रेमिटेन्ससम्बन्धी कारोबारहरु गर्दै आएका छन्।

त्यस्तै सन् २०१३ मा संयुक्त राज्य अमेरिकाबाट नेपाल पैसा हस्तान्तरणमा केन्द्रित रहेको ठमेल रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरूमध्ये एक हो। स्थापनाको नौ वर्षको अवधिमा ठमेल रेमिट अमेरिकाबाट नेपाल पैसा पठाउन सबैभन्दा सस्तो र प्रभावकारी माध्यमका रुपमा उदाएको छ। कम्पनीले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र ग्राहकलाई थप सुविधा प्रदान गर्न नवीनतम प्रविधिहरुको प्रयोग गर्दै आएको छ। ठमेल रेमिट अमेरिकामा बसोबास गर्ने नेपालीहरूले सबैभन्दा रुचाएको रेमिटेन्स माध्यम हो। हालसम्म ठमेल रेमिट मार्फत ५० हजारभन्दा बढी नेपालीहरूले नेपालमा पैसा पठाईसकेका छन्।