– अर्जुन तिमिल्सिना

काठमाण्डौ । करिब ३२०० मा पुगेको बजार तलमाथि गर्दै एकपटक १८०० सम्म आएर पुनः २२०० माथि सम्म पुग्यो। त्यहाँबाट झर्न थालेको बजार आज २०५६ को विन्दुमा आएर बन्द भएको छ। योसँगै सेयरबजारको आगामी दिशा कता हुन सक्ला भने अनेकन अड्कलबाजी हुन थालेका छन्। 

बजारलाई दैनिक चार्टमार्फत म्याक्डी र बोलिंगर ब्यान्डमार्फत हेर्ने हो भने मंगलबारको कारोबारले बोलिंगर ब्यान्डको मध्य ब्याडभन्दा तल रातो मारुबुजु क्यान्डल बनाएर आज स्पिनिङ टप क्यान्डल बनाएको छ। यसले बजारको यात्रा बियरिस संकेत गर्छ भने म्याक्डीमा पनि मंगलबारकै कारोबारले बियरिस क्रसओभर बनिसकेको छ।

आरएसआई पनि ६७ को लगभग ओभर बट जोनबाट खसेर हाल ४४ को न्युट्रल जोनमा आएका छन्। यसकारण इन्डिकेटरको हिसाबले बजार एकपटक बोलिंगर ब्यान्डको तल्लो विन्दु त्यो भनेको २००० सम्म आउन सक्ने सम्भवना देखिन्छ। 

डबल बटमको सम्भावना कति ?

यदि बजार एकपटक बढेर पुनः पहिलेको विन्दुमा नै टेस्ट गर्न आउँछ भने त्यसलाई डबल बटम भनेर बुझिन्छ। हाल २०५६ मा कारोबार भएको बजार त्यो विन्दुमा आउन सक्ला वा नसक्ला ? 

सेयर बजारमा सबै सम्भव हुन सक्छ। तर, अहिलेको बजार यहाँसम्म आउन पहिले बजारले २०२१ को सपोर्टलाई भत्काएर तल आउनुपर्ने हुन्छ। यदि त्यसो भएमा बजार इलिअट वेभको १ देखि ५ बनाउँदै बजार एकपटक १८०६ सम्म टेस्ट गर्न सक्ने सम्भावना पनि त्यत्तिकै रहेको छ।