काठमाण्डौ । अमेरिकी डलरको भाउ आज शुक्रबार फेरि नेपालकै इतिहासमा नयाँ उचाइ कायम गरेको छ।

एकातिर कोरोनाले विश्वअर्थतन्त्र संकटमा परेको छ भने अर्को डलरको भाउ भने दिनदिनै नयाँ उचाइमा पुगिरहेको छ। डलर बलियो बन्दै जाँदा नेपाली रुपैयाँ झनै कमजोर बनेको छ। 

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शुक्रबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२२.६८ रुपैयाँ र बिक्रीदर १२३.२८ रुपैयाँ कायम भएको छ। डलरको भाउ हिजो बिहीबारको तुलनामा ६७ पैसाले बढेको हो। 

शुक्रबारको विनियम दर नेपालमा हालसम्मकै उच्च हो। यसअघि हिजो बिहीबार प्रतिडलर खरिददर १२२.०१ रुपैयाँ र बिक्रीदर १२२.६१ रुपैयाँ कायम भएको थियो। जुन अहिलेसम्मकै उच्च थियो। 

त्यसो गत अप्रिल ९ तारिखमा डलरको विनियम दर हालसम्मकै उच्च कायम भएको थियो। त्यो दिन प्रतिडलर खरिददर १२१.९० रुपैयाँ र बिक्रीदर १२२.५० रुपैयाँ कायम भएको थियो। 

यो साता डलरको भाउमा निकै उतारचढाव दिए पनि पछिल्लो दुई दिनमा प्रतिडलर भाउ ९४ पैसाले बढेको छ।  

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ।

डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा देखिने अर्थविद्हरु बताउँछन्।