काठमाण्डौ । पछिल्लो समय डलरको भाउ बढ्दै जाँदा नेपाली मुद्रा कमजोर बन्दै गइरहेको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको विदेश मुद्राको विनियम दरअनुसार आज १ डलरको खरिददर १३०.६८ रुपैयाँ र बिक्रीदर १३१.२८ रुपैयाँ रहेको छ। यो हिजोको तुलना थोरै कम हो। 

हिजो बिहीबार १ डलरको खरिददर १३०.८१ रुपैयाँ र बिक्रीदर १३१.४१ रुपैयाँ थियो। जुन हालसम्मकै उच्च हो। 

डलर बलियो बन्दै जाँदा अहिले विश्वभरका अर्थतन्त्रहरुमा हचहल मच्चिएको छ। यसले नेपालको अर्थतन्त्रमा भने कस्तो प्रभाव पर्ला ? 

नेपाल राष्ट्र बैंक पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री डलर बलियो बन्दै जाँदा नेपालमा पनि महँगी बढ्न सक्ने बताउँछन्। ‘हाम्रो मुख्य व्यापारिक साझेदार भारत हो, भारतसँग हाम्रो स्थिर विनिमय दर छ’, उनले भने, ‘तर, सबै व्यापार भारतीय मुद्रामा मात्रै हुँदैन, धेरैजसो डलरमा हुने गरेको छ। त्यसैले वस्तु आयात गर्दा महँगो पर्न जान्छ र नेपालमा थप महँगोमा सामान बेच्नुपर्ने अवस्था सिर्जना हुन्छ।’

पूर्वगभर्नर क्षेत्रीले अहिले डलरको भाउ बढ्नुमा भारतको अर्थतन्त्र कमजोर हुनु पनि एउटा कारण हुन सक्ने बताए। ‘डलरको भाउ बढ्दा नेपालले निर्यात बढाउन सके र अन्तर्राष्ट्रिय ट्रेजरी बिलहरुमा लगानी गर्न सके फाइदा हुन सक्छ’, उनले भने।

डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेहरुलाई फाइदा हुने क्षेत्रीको भनाइ छ। ‘पछिल्लो समय रेमिट्यान्स केही मात्रामा बढेको छ’, उनले भने, ‘त्यसैले यसले नेपाललाई फाइदै हुन्छ।’

क्षेत्रीले अहिले विश्वमै डलरलाई विश्वास गर्दा यसको भाउ बढेको बताउँछन्। ‘तर, वास्तविक रुपमा भन्नुपर्दा अमेरिकाले संसारलाई खाली कागज बेचिरहेको छ’, उनले भने।