काठमाण्डौ । वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवं टेस्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्माले नर्भिक इन्टरनेसनल हस्पिटलमा पूर्णकालीन सेवा सुरु गरेकी छिन्। 

करिब १५ वर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा. शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन्। 

अल्का अस्पतालमा आफ्नै फर्टिलिटी सेन्टरसमेत सञ्चालन गर्दै आएकी डा. शर्माले मंसिर १ गतेदेखि अल्का अस्पतालसँगको सहकार्य अन्त गर्दै नर्भिकमै पूर्ण रुपमा सेवा सुरु गरेकी हुन्। 

काठमाण्डौैको थापाथलीस्थित नर्भिक अस्पतालमा सञ्चालनमा आएको नर्भिक आईभीएफ सेन्टरमार्फत डा. शर्माले स्त्रीरोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा सुुरु गरेको जानकारी दिइन्। अल्काको आईभीएफ सेन्टरसमेत डा. शर्माले नै सुरु गरेकी थिइन्।  

स्त्रीरोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई आधुनिक सुविधासहित थप उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आबद्ध भएको डा. शर्माले बताइन्। 

अल्कामा करिब १५ वर्षभन्दा बढी समय बिरामीको सेवा गरेकी शर्माले प्रसूति तथा स्त्रीरोगका साथै बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई नर्भिक हस्पिटलबाट अझै परिस्कृत एवं उच्चस्तरीय सेवा दिने बताइन्। 

नर्भिक आईभीएफ सेन्टरमा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको मोडुलर ओटी र जेनेटिक ल्याबसहितको टेस्टट्युब बेबी सेवा सञ्चालन भएकाले बिरामीले तुलनात्मक रुपमा थप उच्चस्तरीय सेवा पाउने डा. शर्माको भनाइ छ।