काठमाण्डौ । संसद विघटनपछि भएको सरकार पुनर्गठनका क्रममा उद्योग राज्यमन्त्रीबाट राजीनामा दिएका चर्चित उद्योगी मोतीलाल दुगडले महत्वपूर्ण जिम्मेवारी पाउने भएका छन् । 

राज्यमन्त्री भए पनि फूल मन्त्री सोसरह सक्रिय भई काम गरेका उद्योगी दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा लैजाने भएका हुन् । 

बालुवाटारस्थित उच्च स्रोतका अनुसार उद्योगी मोतीलाल दुगडलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनाउन लागेका छन् । 

अर्थमन्त्रीबाट राजीनामा दिएपछि डा. युवराज खतिवडाको व्यवस्थापनका लागि ओलीले यो पद सिर्जना गरेका थिए । डा. खतिवडा केही दिन मात्र यो पदमा रहेका थिए । प्रधानमन्त्री ओलीकै जोडबलमा डा. खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत बनाएर पठाइएपछि विशेष आर्थिक सल्लाहकारको पद रिक्त छ । मन्त्री सोसरहको हैसियत कायम हुने र सुविधा पाउने गरी सिर्जना गरिएको यो पदमा उद्योगी दुगड जान लागेका हुन् । 

दुगडलाई यो विषयमा बालुवाटारबाट खबर भइसकेको छ र उनलाई आइतबार साँझसम्म विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको पत्र दिइने तयारी भइरहेको उच्च स्रोतले जानकारी दियो । 

‘दुगड जीले राज्यमन्त्री हुँदा पनि फूल मन्त्री सोसरह राम्रो काम गर्नुभयो । यसैको मूल्याङ्कन गर्दै प्रधानमन्त्री ज्यूले उहाँलाई अझ ठूलो जिम्मेवारी दिन लाग्नुभएको हो ।’ प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले बिजशालासँग भने–‘उहाँ मन्त्री सोसरहको हैसियतमा पुनः सिंहदरबार फर्किनुहुँदैछ ।’

दुगडलाई यो विषयमा बुझ्दा अनभिज्ञता प्रकट गरे । ‘अहिले म विराटनगरमा छु, त्यस्तो कुनै जानकारी आएको छैन ।’–उनले भने ।