काठमाण्डौ । कोरोनाको दोस्रो लहर व्यापक बढिरहेको बेला बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आफ्नो सेवा सुचारु गर्नलाई गाह्रो भइरहेको अवस्था छ। झन सदस्यहरुका माझमा नै पुगेर उनीहरुसँग प्रत्यक्षीकरण गर्दै सेवा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई अझ बढी गाह्रो परिरहेको छ भने निषेधाज्ञा भइरहेको सन्दर्भमा सदस्यहरुलाई पनि आफ्नो कारोबार गर्न नपाउँदा समस्या भइरहेको छ। 

यसै सन्दर्भमा काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिने भएको छ। कोभिडको यो समयमा सदस्यहरुले घरबाट नै आफ्ना कारोबारहरु गर्न सकियोस र अत्यावश्यक कतिपय सेवाहरु घरमा नै बसेर गर्न सकियोस भन्ने उद्देश्यका साथ डिजिटल बैंकिङ सुरु गर्न लागिएको र सो कार्यका लागि व्यवस्थापनलाई आवश्यक निर्देशन तथा अख्तियारी दिइएको संस्थाका अध्यक्ष टेक बहादुर बोहराले जानकारी दिए। 

अध्यक्ष बोहराले नेपाल सरकार तथा नियामक निकाय नेपाल राष्ट्र बैंकले ‘वर्क फ्रम होम’ र ‘क्यास लेस’ कारोबारका लागि निरन्तर गरिएको आग्रह तथा निर्देशनको पालना गर्ने क्रममा सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिन लागिएको बताए। 

यसैबीच सोमबार संस्थाका सहायक प्रमुख कार्यकारी बिर्खबहादुर बोहरा र इन्फो डेभलपर्सका प्रमुख कार्यकारी उमेश रघुवंशीबीच डिजिटल बैंकिङ सेवाका लागि सम्झोतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ। डिजिटल बैंकिङअन्तर्गत सदस्यहरुले कारोबारको एसएमएसबाट जानकारी पाउने, सदस्यहरुले घरमै बसेर आफ्नो खाताको जानकारी लिने, ई–सेवा, खल्ती तथा फोन पेजस्ता डिजिटल वालेटहरुमा रकम राख्न पाउने, मोबाइल, डिसहोम, इन्टरनेट, बिजुली तथा खानेपानीका बिलहरु घरमै बसेर भुक्तानी गर्न पाउनेलगायत दुई दर्जन बढी सेवाहरु पाउने संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी दिए।

विश्व आफैँ प्रविधिमा छलाङ मारिरहेको अवस्थामा मिर्मिरेले पनि आवश्यक प्रविधिहरु अँगाल्दै आगामी दिनमा घरमै बसेर सदस्यहरुले कर्जाका लागि आवेदन दिन सकिने टोल–टोलमा नै स्पट बैंकिङअन्तर्गत बचत राख्न र निकाल्न पाउनेलगायतका सेवाहरु विस्तार गर्दै लान सकिने संस्थाका अध्यक्ष बोहराले जानकारी गराए।

संस्थाका सहायक प्रमुख कार्यकारी बिर्खबहादुर बोहराले अहिले सबै जना घरभित्रै बस्नुपर्ने अवस्थामा संस्थाले ल्याएको डिजिटल बैंकिङ सेवा लिई भरपुर फाइदा उठाउन सबै सदस्यहरुलाई आग्रहसमेत गरेका छन्।