काठमाण्डौ। नेपाल राष्ट्र बैंकद्वारा गत वैशाख १९ मा जारी निर्देशनअनुसार अब क्रेडिट कार्डबाट लोड गरिएको रकम बैंकमा ट्रान्सफर गर्न नमिल्ने प्रावधान लागू भएको छ। सो प्रावधान खल्ती डिजिटल वालेटले २ वर्षअघिदेखि नै लागू गर्दै आइरहेको थियो।

यस निर्देशन लागू भएलगत्तै अब क्रेडिट कार्डबाट लोड गर्ने प्रयोगकर्ताले रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागिमात्र प्रयोग गर्न पाउनेछन्। क्रेडिट कार्डबाहेक अरु अनलाइन माध्यमबाट लोड गरिएको रकम भने नेपाल राष्ट्र बैंकको ट्रान्सफर सीमामा रही सहजै ट्रान्सफर गर्न सकिनेछ।

यसका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्तीले नेपाल राष्ट्र बैंकको निर्देशनअघि नै यस प्रावधानको पालना गर्दै आएको छ। यो व्यवस्थाले डिजिटल माध्यमहरुको जिम्मेवारीपूर्ण प्रयोगतर्फ थप एक कदम अघि लिएका रुपमा काम गर्नेछ भन्ने हाम्रो विश्वास छ।’

भर्खरै स्टार्ट–अप सक्सेस अवार्डबाट मान्यता प्राप्त खल्ती आफ्नो सेवाको पाँचौँ वर्षमा पुगेको छ। यसले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गरेको छ। हाल यससँग ६० हजार बढी एजेन्ट नेटवर्कको साथमा देशभर २० लाख बढी प्रयोगकर्ता छन्। खल्तीबाट प्रयोगकर्ताले आफ्नो फोन र टीभी टप–अप गर्न, इन्टरनेटको बिल, बीमा प्रिमियम, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल, आन्तरिक उडानको टिकट किन्न, चलचित्रको टिकट बुक गर्न र अन्य धेरै कुरा गर्न सक्छन्।