काठमाण्डौ । डिजी पे प्रालि र स्टार हस्पिटलबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ।

डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत ललितपुरस्थित नेपालकै एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको छ। यस सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकले स्टार हस्पिटलको सौजन्य रु. ८२५ को दुइवटा रु. १ हजार ६५० बराबर ओपीडी टिकट निःशुल्क पाउने छन् र साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन्।

स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुसी व्यक्त गरेका छन्। उनका अनुसार यस सहकार्यले स्थानीयस्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए।

त्यस्तै डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले स्टार हस्पिटलजस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए। उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुड्किलो र उपलब्धि हो। 

यसैगरी अरु पनि विभिन्न संस्थाहरुसँग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाई थप अफर तथा सुविधा दिने योजना रहेको बताए।

सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा स्टार हस्पिटल र डिजी पेका विभिन्न व्यक्तित्वहरुको पनि उपस्थिति थियो।