काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकसँग पहिला ‘सर्टकर्ट डिडिए’ गरेर मात्र मर्जरका लागि सम्झौता गर्ने भएको छ । 

हिमालयन बैंकका एक सञ्चालककाअनुसार क्रसहोल्डिङ भएका कारण समेत सिभिल बैंकसँग मर्जर छलफल चलिरहेको उल्लेख गर्दै पहिला ‘सर्टकर्ट डिडिए’ गरी मोटामोटी स्वाप रेसियो लगायतका विषय हेर्ने, अनि मात्र मर्जरको सम्झौता हुनेछ । 

‘पहिला नै अन्धाधुन्ध मर्जरको सम्झौता गर्दा विगतमाजस्तो विभिन्न समस्या आएर सफल नहुनसक्छ । तसर्थ यसपटक हामीले पहिला सर्टकर्ट डिडिए गरी सबै कुरा हेरेर मर्जरको सम्झौता गर्न लागेका हौं ।’ एक सञ्चालकले भने–‘सिभिलबाहेक अन्य केही बैंकसँग पनि कुराकानी जारी छ । केही दिनभित्रै सुखद कुरा सुनाउन पाइएला ।’

हिमालयन बैंकले सिभिल वा बैंक अफ काठमाण्डूसँग मर्जर सम्झौता गर्नसक्ने सम्भावना रहेको समाचार बिजशालामा केही साताअघि नै प्रकाशित भइसकेको छ । बैंक अफ काठमाण्डूलाई ग्लोबल आइएमई बैंकले मर्जर गर्ने गरी सम्झौता गरिसकेकोले हिमालयन बैंकको रोजाईमा अब सिभिल पर्ने देखिन्छ । तर, हिमालयन बैंकले सिभिल बाहेकका अन्य दुई वाणिज्य बैंकसँग पनि कुराकानी अगाडि बढाएको छ । सिभिलसँग कुरा मिलेन भने त्यसका लागि विकल्प तयार पार्ने उद्देश्यले अन्य २ बैंकसँग पनि छलफल चलिरहेको ती सञ्चालकले जानकारी दिए । 

यता, सिभिल बैंकका सञ्चालक भने आफूहरुको अवस्था पहिलाभन्दा धेरै मजबुत भइसकेकोले हेपिएर कोहीसँग पनि मर्जरमा नजाने प्रष्ट अडानमा छन् । सिभिलका एक सञ्चालकले बिजशालासँग भने–‘सम्मानजनक प्रस्ताव आएमा मात्र मर्जरमा जान्छौं, होइन भने आफैं अगाडि बढ्ने योजनालाई पनि छाडेका छैनौं ।’

मर्जरका प्रारम्भिक छलफलमा सिभिलले हिमालयन बैंकलाई १ बराबर १ को सेयर स्वाप अनुपात मागेको समेत बुझिएको छ । हिमालयन बैंकका सञ्चालकहरु सिभिलले धेरै नै स्वाप मागेको भन्दै पहिला डिडिए गरी त्यसबाट आउने नतिजाको आधारमा सेयर स्वाप तोकेर सम्झौता गर्ने निश्कर्षमा पुगेका हुन् । सोही अनुसार आवश्यक तयारी भइरहेको स्रोतले बताएको छ ।