काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठामार्फत आप्रबासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी विधेयक पारित गराउन खोजेको प्रयास असफल भएको छ । 

न्यूज एजेन्सीहरुका अनुसार डिभी चिठ्ठा लगायतका बिषय समेटिएका चारवटा विधेय अमेरिकी संसदले अस्वीकृत गरिदिएपछि ट्रम्पको यस्तो चाहनामा ब्रेक लागेको हो । 

ट्रम्प सरकारले अमेरिकाको माथिल्लो सदनमा डिभी चिठ्ठा बन्द, सीमा सुरक्षा लगायतका चारवटा विधेयक पेश गरेको थियो । तर, सबै अस्वीकृत भए । 

योसँगै तत्कालका लागि नेपाल लगायतका देशका लागि वर्षेनी खोलिने डिभी चिठ्ठा कार्यक्रम रद्ध नहुने भएको छ । अमेरिकाले डिभी चिठ्ठामार्फत प्रत्येक वर्ष ५० हजार आप्रबासीलाई आफ्नो देशमा भित्र्याउने गर्छ । यीमध्ये डिभी परेर जाने नेपालीहरुको संख्या अधिक छ । वर्षेनी नेपालबाट झण्डै ५ हजारको हाराहारीमा चिठ्ठा परेर अमेरिका जाने गर्छन । 

यस्तै, हालको व्यवस्था अनुसार अमेरिकामा ग्रीनकार्ड होल्डरले आफ्ना आमाबुुबा, दाजुुभाई, दिदीबहिनीलाई समेत अमेरिकी नागरिक बनाउन पाउने सुविधा छ । तर, ट्रम्पले यो व्यवस्थाको विरोध गर्दै डिभीचिठ्ठा र चेन इमीग्रेसन बन्द गर्नुपर्ने दलिल पेश गर्दै आएका छन् । 

माथिल्लो सदनले डिभी चिठ्ठा बन्द गर्ने सम्बन्धी विधेयक अस्वीकृत गरेपछि संचारमाध्यमलाई प्रतिक्रिया दिंदै ट्रम्पले यसमा भिटो प्रयोग गर्ने बताएका छन् । उनले आगामी मार्चसम्म यसको सही समाधान खोज्न समेत संसदलाई चेतावनी दिएका छन् ।