काठमाण्डौ । बैंकिङ संकटबीच अमेरिकाको अर्को एउटा बैंक डुबेको छ। 

लामो समयदेखि नगद संकटको सामना गरिरहेको फर्स्ट रिपब्लिक बैंक (एफआरबी) डुबेको हो। यो बैंक बन्द छ। योसँगै जेपी मोर्गनले यो बैंकको सबै एसेट्स (सम्पत्ति) किनेको छ। जेपी मोर्गन चेज एन्ड कम्पनीले एफआरबीको सम्पत्तिको ठूलो हिस्सा किनेको जनाएको छ। 

‘फर्स्ट रिपब्लिक बैंकको सबै निक्षेप, सबै बीमा नगरिएका निक्षेप र धेरैजसो सम्पत्तिसहित जेपी मोर्गनमा समावेश हुनेछ’, क्यालिफोर्निया डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्सन एन्ड इनोभेसनद्वारा विज्ञप्तिमा भनिएको छ। 

फर्स्ट रिपब्लिक बैंकका ८ राज्यमा रहेका ८४ शाखा अब जेपी मोर्गन चेज बैंकको शाखाको नाममा खुल्नेछन्।

फर्स्ट रिपब्लिक बैंक धनीहरुको आवश्यकता पूरा गर्ने निजी बैंक थियो। यो सिलिकन भ्याली बैंकजस्तै थियो। जुन उद्यम पुँजी फर्महरुमा केन्द्रित थियो। सिलिकन भ्याली बैंक गत मार्चमा डुबेको थियो। 

सान फ्रान्सिस्कोमा आधारित फर्स्ट रिपब्लिक बैंक मार्चको सुरुमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक डुबेपछि संघर्ष गरिरहेको थियो। यो बैंक अब डुब्छ कि भन्ने डर लगानीकर्ता र निक्षेपकर्तामा थियो । यसरी डुब्ने यो तेस्रो प्रमुख अमेरिकी बैंक हो। –एजेन्सी