काठमाण्डौ ।  हिलारी क्लिन्टनको पक्षमा निकै ठूलो जनमत रहेको भनिए पनि र चुनावअघिका सर्वेक्षणहरुले हिलारीको पक्षमा मत बढी रहेको देखाए पनि अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । 

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार हालसम्मको मत परिणामअनुसार ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेद्वार हिलारी क्लिन्टनलाई निकै पछाडि पारेका छन् । 

अब केही मतहरु मात्र गन्न बाँकी छन् । मत गणना जारी रहेका प्रमुख राज्यहरुमा ट्रम्पले नै अग्रता लिएका कारण अब उनको जित लगभग निश्चित झै देखिएको हो । 
बीबीसीका अनुसार ५० राज्यमध्ये ४२ को मत परिणाम आएको छ । र, ट्रम्पले २६६ इलेक्टोरल भोट जितेका छन् भने हिलरीले २१८ भोट जितेकी छन् । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट भए पुग्छ । 

एजेन्सीहरुका ट्रम्पले २० इलेक्टोरल कलेज भएको पेन्सलभेनिया राज्यमा शानदार जित  हासिल गरेका छन् । मिसिगनमा पनि उनको जित निश्चित जस्तै भएको छ भने एरिजोनामा उनको अग्रता कायमै छ ।  एजेन्सीहरुका अनुसार हिलरी भने मिनेसोता र न्यूह्याम्पशायर अगाडि छन् ।