काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको न्यूक्लियर हतियार तथा जलवायु परिवर्तनको मुद्धाको बिषयमा दिएको अभिव्यक्तिले विश्वलाई असुरक्षित बनाएको टिप्पणी हुन थालेको छ ।

वैज्ञानिकहरुले संसारका लागि प्रलयको खतराको बादल अब पहिलाभन्दा धेरै मडारिन थालेको दाबी गरेका छन् । बुलेटिन अफ दि अटोमिक साइन्टिस्टसँग सम्बद्ध वैज्ञानिकहरुले यो विषयमा निकै गहिरो चिन्ता व्यक्त गरेका छन् । उनीहरुले बिहीबार आफ्नो प्रतिकात्मक डूम्स डे क्लक(प्रलयको दिनको घडी)मा प्रलयको समयलाई ३० सेकेण्ड पहिला सारेका छन् । 

स्मरण रहोस् बुलेटिन अफ दि अटोमिक साइन्टिस्टको एक अप्राविधिक एकेडेमिक पत्रिका छ, जसले न्यूक्लियर वा अर्को कुनै नरसंहारको हतियार तथा जलवायु परिवर्तन, नयाँ प्रविधि तथा रोगहरुका कारण विश्वको सुरक्षामाथि परिरहेको खतराको बिषयमा अध्ययन गर्छ । सन् १९४५ मा जापानको हिरोशिमा तथा नागासाकीमा परमाणु विध्वंशपछि यो पत्रिका निरन्तर प्रकाशित हुने गरेको छ । 

यो घडीले मानव यो ग्रहको अन्त गर्न कति नजिक छन् भन्ने कुरा संकेत गरिरहेको हुन्छ । अन्तिम समयमा यो घडीको समयमा सन् २०१५ मा परिवर्तन गरिएको थियो । सो बेला मध्यराति १२ बजेको समयलाई ३ मिनेट अगाडि सारिएको थियो । त्यसअघि त्यसलाई ५ मिनेट अगाडि सारिइसकेको छ । अब नयाँ समय जुन तय गरिएको छ त्यो मध्यराति भन्दा अढाई मिनेट अगाडिको समय हो । यसको अर्थ हो प्रतिकात्मक हिसाबले प्रलयको समय ३० सेकेण्ड थप छिटो समयमा आइपुुगेको छ । 

वैज्ञानिक तथा बुद्धिजीवीको एक समूहले एक विज्ञप्ति जारी गरी यसको फेरबदलको कारण बताएको छ । यसमा १५ नोबेल पुरस्कार विजेता समेत सामेल छन् । यो कदमका कारण–‘विश्वभरमा कट्ट राष्ट्रवादको जन्म, राष्ट्रपति ट्रम्पको परमाणु हतियार तथा जलवायु परिवर्तनप्रति गरिएको टिप्पणी तथा अत्याधुनिक प्रविधिको विकासका कारण विश्वको सुरक्षा परिदृश्यमाथि गहिरो संकट तथा वैज्ञानिक विशेषज्ञताप्रतिको उदासीनता हो ।’

ट्रम्पले जलवायु परिवर्तनको बिषयमा निकै विरोधाभास अभिव्यक्ति दिएका थिए । कयौं पटक उनले यो मुद्धालाई फर्जी मुद्धाको संज्ञा दिएका छन् । कतिपय अवस्थामा उनले यो मुद्धामाथि खुल्ला दिलले छलफलका लागि तयार रहेको बताउने गरेका छन् । जहाँसम्म परमाणु ताकतको मुद्धा छ, ट्रम्पले डिसेम्बरमा भनेका थिए कि अमेरिकाले आफ्नो न्यूक्लियर हतियारको उत्पादन तथा सञ्चितीमा बढोत्तरी गर्नुपर्नेछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए कि उनको देशको परमाणु शक्तिको मोर्चामा अझ सशक्त हुन आवश्यक छ । यसको जवाफमा ट्रम्पले ट्वीट गर्दै भनेका थिए–‘अमेरिकाले आफ्नो परमाणु क्षमतालाई निकै ठूलो रुपमा बिस्तार गर्न तथा बलियो बनाउन आवश्यक छ । यस्तो काम त्यतिबेलासम्म गरिन्छ, जतिबेलासम्म विश्वमा परमाणु हतियारको बिषयलाई लिएर चेत आउने छैन ।’ 

वासिंगटनस्थित नेशनल प्रेस क्लबमा आयोजित कार्यक्रममा बुलेटिनको तर्फबाट लरेन्स क्रसले भनेका छन्–‘डूम्स डेको सुुई आधी रातको समयमा यति नजिक पुुगेको छ कि, यति नजिक कि यो कोठामा रहेका कुनै पनि व्यक्तिको जीवनकालदेखि यति नजिक यसअघि कहिल्यै थिएन ।’  अन्तिम समय यस्तो काम ६३ वर्षअघि सन् १९५३ मा भएको थियो । जतिबेला सोभियत संघले पहिलो हाइड्रोजन बम पड्काएको थियो र जसका कारण हतियारहरुको आधुनिक प्रतिस्पर्धाको युगको सुरुवात भएको मानिएको थियो । 

ट्रम्प र पुटिनको अभिव्यक्तिको बिषयमा थप जोड दिंदै उनले भनेका छन्–‘यो पहिलोपटक भइरहेको छ कि उच्च पदमा बसेका एक वा दुुई व्यक्तिको शब्द तथा घोषित नीतिलाई यति धेरै प्राथमिकता दिइएको छ ।’ क्रसले अमेरिकी खुफिया एजेन्सीको रिपोर्टलाई उद्धृत गर्दै भनेका छन् कि रुसले कथित ढंगले ट्रम्पको जित सुनिश्चित गर्नका लागि साइबर ह्याकिङको प्रयोग गरी त्यहाँको चुनावी परिणाम प्रभावित गरेका थिए । क्रसले यसलाई गहिरिँदै गरेको वैश्विक खतराको प्रतिकको रुपमा प्रस्तुत गरेका छन् ।  

न्यूूयोर्क टाइम्समा प्रकाशित एक लेखमा क्रस तथा बुलेटिनमा सहभागी एक अर्का वैज्ञानिक डेविड टिटले घडीको समयमा परिवर्तन गर्नुपछाडिको मुख्य कारण ट्रम्प हुन् भनेका छन् । उनीहरुले लेखेका छन्–‘यसअघि कहिल्यै पनि बुलेटिनले एक व्यक्तिको अभिव्यक्तिको पछि लागेर घडीको समय परिवर्तन गरेको थिएन । तर त्यो व्यक्ति अरु कोही नभएर नयाँ अमेरिकी राष्ट्रपति ट्रम्प हुन् ।’ उनले भनेका शब्दहरुले निकै महत्व राख्छन् । 

डूम्स डे घडी सन् १९४७ मा स्थापित गरिएको थियो । त्यसपछि अहिलेसम्म यो घडीको समयमा १९ पटक फेरबदल गरिसकिएको छ । सन् १९५३ मा यसको समय आधा रात भन्दा ठीक २ मिनेट अगाडि सारिएको थियो । यस्तै, १९९१ मा यसलाई आधा रातभन्दा १७ मिनेट अगाडि गरिएको थियो ।