काठमाण्डौ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेसँगै आज आइतबारबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाइने भएको छ।

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच आइतबारबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको हो। निगमको केन्द्रीय कार्यालयमा हिजो शनिबार दुवै पक्षबीच छलफल भएको थियो। छलफलमा दुवै पक्षबीच सहमति जुटेपछि पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज हुने भएको हो। 

समन्वय समितिले गत फागुन २३ मा निगमसमक्ष पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो। छलफलमा पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति बनेको छ। 

त्यस्तै अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागका सम्बन्धमा आगामी जेठ १५ गतेसम्म निचोड निकालिने सहमति बनेको छ। 

उपभोक्तालाई सहज र सरल ढंष्ले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालय आइतबार बिहान ८ बजेदेखि नै सञ्चालन गरिने निगमले जनाएको छ।