काठमाण्डौ । तपाईको दिमागमा कुनै राम्रो र नमूना योजना छ ? मनमा केही नयाँ गरौं भन्ने उत्कट चाहना र अनुकरणीय जोस छ ? यदि छ भने विश्वमा यस्तो पनि बैंक छ, जसले तपाईंको अवधारणालाई  हेरेर तपाईंलाई सहुलियत दरमा ऋण दिनसक्छ वा तपाईंको कम्पनीमा करोडौं रुपैयाँ लगानी गरिदिनसक्छ । यसको मद्धतले तपाई गरीबकै छोरा भए पनि दिमागको भरमा रातारात फोब्र्स पत्रिको अर्बपतिको सूचिमा पर्न सक्नुहुन्छ । 

तपाईको अवधारणा र आइडियामा लगानी गरिदिने संस्था हो जापानको सफ्ट बैंक । यो संस्थाले अहिलेसम्म विश्वलाई धेरै अर्बपति दिइसकेको छ । चीनमा अलीबाबादेखि भारतको स्नेपडील जस्ता दर्जनौ ब्राण्ड आज सफ्टबैंककै कृपाले सानो स्टार्टअपदेखि ठूला बिजिनेश कम्पनीको रुपमा स्थापित भएका छन् । 

बैंक होइन, नाम मात्र हो सफ्टबैंक
सफ्टबैंकको बिषयमा सबैभन्दा रोचक कुरा यो हो कि यो कुनै बैंक होइन । बरु यो कम्पनीको नाम चाहि सफ्ट बैंक हो । यो कम्पनी मुख्य रुपमा टेलिकम्युनिकेशन र टेक्नोलोजीको बिजिनेश गर्दछ । यस अलावा यसले विश्वभरि नै स्टार्टअप बिजिनेशमा लगानी गर्छ । सफ्टबैंकले भारतका साना र ठूला कयौं कम्पनीमा गरी अहिलेसम्म करोडौ डलर लगानी गरिसकेको छ । ती कम्पनीमध्ये स्नेपडील पनि एक हो । अहिलेको अवस्थामा स्नेपडील भारतको तेश्रो सबैभन्दा ठूलो ई–कमर्स कम्पनी हो । 

जन्मायो दर्जनौं अर्बपति
सफ्टबैंकले अहिलेसम्म दर्जनौ  स्टार्ट–अप्सलाई फण्डिङ गरिसकेको छ । यीमध्ये अहिले केही कम्पनी ठूलो बिजिनेश हाउस भइसकेका छन् । कुनै बेला केही हजारको नेटवर्थ मात्र भएका यिनका मालिक आज रातारात अर्बपति भएका छन् । आउनुहोस्, जानौं सफ्टबैंकले बनाएका ६ अर्बपतिको बिषयमा ।

कुणाल बहल

सफ्टबैंकले जुन–जुन स्टार्ट–अप्सलाई लगानी गरी निकै ठूलो बिजिनेश कम्पनी बन्ने कार्यमा मद्धत गर्यो, यसमा सबैभन्दा अगाडि स्नेपडीलको नाम आउँछ । स्नेपडीलका सह–संस्थापक कुणाल बहल अहिले अर्बपति भइसकेका छन् । फोब्र्सका अनुसार सन् २०१५ मेमा उनको कुल सम्पत्ति ३७०२ करोड रुपैयाँ रहेको छ । सफ्टबैंकले सन् २०१४ अक्टोबरमा ६२.७ करोड डलर लगानी गरेको थियो । 

भविश अग्रवाल


सफ्टबैंकको मद्धतबाट अर्बपति भएका अर्का पात्र हुन् भविश अग्रवाल । एपमा आधारित ट्याक्सी सर्भिस प्रोभाइडर ओलाका संस्थापक हुन् उनी । सफ्टबैंकले सन् २०१४ अक्टोबरमा ३४ करोड रुपैयाँ लगानी गरेको थियो । अहिलेको समयमा ओला भारतको सबैभन्दा ठूलो एपमा आधारित सर्भिस कम्पनी हो । अग्रवालको सम्पत्ति अहिले ३८ सय करोड रुपैयाँ  पुगिसकेको छ । 

नवीन तिवारी


सफ्टबैंकको लगानीबाट रातारात अर्बपति बनेका नवीन तिवारी इनमोबी डटकमका संस्थापक हुन् । मोवाइल एडमा आधारित यो स्टार्टअपमा सफ्टबैंकले सन् २०१४ मे महिनामा ५० लाख डलरको लगानी गरिदिएको थियो । वर्तमान समयमा इनमोबी आफ्नो सेगमेन्टमा सबैभन्दा ठूलो कम्पनी हो । नवीन तिवारीको सम्पत्ति २७ सय करोड रुपैयाँ पुगिसकेको छ । 

अंकित भाटी


अंकित भाटी ओलाका अर्का संस्थापक हुन् । सन् २०१०, डिसेम्बर महिनामा अंकित भाटीले भविश अग्रवालसँग मिलेर ओलाको सुरुवात गरेका थिए । वर्तमान समयमा अंकितको कुल सम्पत्ति पनि ३८ सय करोड रुपैयाँ पुगिसकेको छ । 

ज्याक मा


सफ्टबैंकको फण्डको मद्धतबाट अर्बपति बन्ने विश्वकै पहिलो व्यक्ति ज्याक हुन् । सन् २००० मा सफ्टबैंकले अलीबाबामा २ करोड डलर लगानी गरेको थियो । अलीबाबा वर्तमान समयमा अलीबाबा संसारकै दोश्रो ठूलो ई–कमर्स कम्पनी हो । अहिले पनि अलीबाबामा सफ्टबैंकको ३५ प्रतिशत शेयर स्वामित्व छ । अलीबाबा सुरु गर्ने ज्याक माको कुल सम्पत्ति अहिले ३.५२ लाख करोड रुपैयाँ पुगिसकेको छ । 

चेङ वेइ


चेङ वेइ चीनको एपमा आधारित ट्याक्सी सर्भिस ‘दिदी काउदी’का संस्थापक हुन् । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति हाल ६६०० अर्ब डलर रहेको छ । दिदी काउदीको मार्केट भ्यालू वर्तमान समयमा १.६ अर्ब डलर पुगेको छ । सफ्टबैंकले दिदी काउदीमा ६० करोड डलर लगानी गरेको थियो । अहिलेको समयमा सफ्टबैंकको दिदी काउदीमा ४४ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

सफ्टबैंकका सीइओको भनाई


गत वर्षको भारतमा आयोजित ‘स्टार्टअप इण्डिया, स्टेण्डअप इण्डिया’ कार्यक्रमको दौरान त्यहाँ पुगेका सफ्टबैंकका सीइओ मासायोशी सोनले भनेका थिए कि उनी स्टार्टअपमा पैसा लगाउनुभन्दा पहिला उनी त्यस्तो स्टार्टअप्सका प्रमोटरको आँखामा चमक देख्छन । उनका अनुसार अली बाबाका मालिक ज्याक माको आँखामा त्यस्तै चमक देखेका थिए । यसैका कारण उनले केही मिनेटमै अलीबाबालाई लगानी गर्ने निर्णय लिएका थिए । 

एजेन्सीको सहयोगमा