काठमाण्डौ । नवलपरासीको दुम्कौलीस्थित सिजी औद्योगिक पार्कभित्र एक दर्जन आकर्षणसहितको विशाल शाश्वतधाम निर्माण भएको छ । 

सात बिघामा फैलिएको शाश्वतधामको उद्घाटन फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ । उद्घाटन समारोहमा भारतको काञ्चीकामाकोटी पीठका पीठाधीश शंकराचार्य श्री जयेन्द्र सरस्वती र आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक गुरुदेव श्री श्री रविशंकरको विशेष उपस्थिति रहने छ ।

शाश्वतधामले आइतबार सिजी औद्योगिक पार्कभित्र पत्रकार सम्मेलन गरी शाश्वतधामका आकर्षण र यसको उद्घाटन समारोहबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले शाश्वतधाम निर्माणमा १४ वर्ष समय लागेको जानकारी दिए । ‘शाश्वतधाम सबैको हो, नेपालको गौरव हो’, चौधरीले भने, ‘शाश्वतधाम निर्माणमा समय र रकम धेरै नै लगानी भए पनि यसको मूल्य निर्धारण हुन सक्दैन । हामीले खर्चको रेकर्ड राखेका पनि छैनौँ ।’ खजुखाहो शैलीमा निर्माण गरिएको इकाम्बरेश्वरा शिव मन्दिर शाश्वतधामको प्रमुख आकर्षण रहेको र गुरुकुल, सात्विक रेस्टुराँ, गौशालालगायत दर्जनभन्दा बढी क्षेत्रको अवलोकन गर्न सकिने प्रबन्ध निर्देशक चौधरीले बताए ।

शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीयस्थलको रूपमा विकास हुने चौधरी ग्रुपका अध्यक्ष तथा शाश्वतधाम संस्थापक विनोद चौधरी बताउँछन् । 

‘पूर्वीय सनातन धर्मप्रति आस्थावान सबैको भावनाको कदर स्वरूप निर्मित यो शाश्वतधाममा मानिसले आध्यात्मिक ऊर्जा प्राप्त गर्नेछन्’, संस्थापक चौधरी भन्छन्, ‘यहाँ मानिसले शान्तिपूर्ण तथा ऊर्जायुक्त वातावरणमा मानसिक शान्ति र आत्मीय आनन्दको अनुभव गर्न सक्नेछन् ।’ सनातन कालदेखि सम्पदाको रूपमा रही आएको आध्यात्मिक ज्ञानको गंगामा डुबुल्की मार्न चाहनेका लागि शाश्वतधाम एक उत्कृष्ट गन्तव्य बन्ने उनको विश्वास छ।

शाश्वतधामका प्रमुख कार्यकारी अधिकृत आशुतोष चावलाले शाश्वतधाम स्थापनाका लागि उद्योगपति विनोद चौधरीलाई प्रेरणा दिएपछि यसको परिकल्पना गरिएको जानकारी दिए । ‘शाश्वतधामको परिकल्पना जगद्गुरु शंकराचार्य आएका बेला १५ वर्षअघि नै भएको हो’, चावलाले भने, ‘नेपालभित्र रहेका पौराणिक महत्वका एक सय ३५ भन्दा बढी धार्मिकस्थलको भीडमा शाश्वतधाम बेग्लै पहिचान बोकेर उभिएको छ।’ शाश्वतधामभित्र आध्यात्मिक शिविर आयोजना भइरहने ध्यान र योग केन्द्रसमेत रहेको उनले जानकारी दिए ।

शाश्वतधाम सर्वसाधारणका लागि सधैँ खुला रहने जानकारी दिँदै चौधरी ग्रुपका महाप्रबन्धक नारायण श्रेष्ठ भन्छन्, ‘बिहान सात बजेदेखि राति आठ बजेसम्म इच्छुक जोकोहीले शाश्वतधामको निःशुल्क अवलोकन गर्न सक्नेछन् ।

शाश्वतधामको निर्माण औद्योगिक पार्कका लागि मात्र नभएर नवलपरासीवासी र सम्पूर्ण नेपालीकै लागि भएको बताए । मन्दिर निर्माणको सुरुदेखि अहिलेसम्म सक्रिय श्रेष्ठले जगद्गुरु शंकराचार्यको निर्देशन बमोजिम नै शाश्वतधामको निर्माण सम्पन्न गरिएको जानकारी गराए ।

पत्रकार भेटघाट कार्यक्रममा चौधरी ग्रुपका मधुसूदन पौडेलले चौधरी ग्रुपले सर्वसाधारको लागि शसक्त शाश्वतधाम निर्माण गरेको बताए। । शाश्वतधाममा १२ राशि र २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी वर, पीपल, अशोकलगायत रूखका बिरुवा लगाइएको पौडेलले जानकारी दिए। यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।