काठमाण्डौ । तरलताको चरम अभावका कारण बैंकहरुलाई फिटफिटी परिरहेको बेला कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र भने तोकिएको समयभित्रै बिक्री भएको छ।

ब्याजदरको तीव्र उतारचढाव हुने नेपालजस्तो देशमा १० वर्षसम्म एउटै ब्याजदर पाइने भएका कारण पनि सेञ्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र समयभित्रै पूर्ण रुपमा बिक्री भएको हो।

सेन्चुरी कमर्सियल बैंकले २ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री खुलाएको थियो। बैंकले गत वैशाख २१ गतेदेखि १ हजार रुपैयाँ अंकित दरमा कुल २२ लाख इकाइ भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र जारी गरेको थियो। ऋणपत्र खरीदका लागि जेठ ४ गतेसम्म आवेदन दिनुपर्ने थियो।

बैंकले कुल इकाइमध्ये १३ लाख २० हजार इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गरेको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। बाँकी ८ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएकामा ती सबै इकाई समयभित्रै बिक्री भएका छन्। ८ लाख ८० हजारमध्ये १० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको थियो।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम ८ लाख ७० हजार इकाइसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

सेन्चुरी बैंकको यो १० वर्ष अवधिको ऋणपत्र हो। यसमा ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।

१० वर्षसम्म एउटै दर अर्थात १०.५० प्रतिशत ब्याज पाउने भएका कारण समेत सेञ्चुरी बैंकको ऋणपत्रका सबै इकाई बिक्री भएको ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले जानकारी दिए।

अन्य बैंकहरुको ऋणपत्र समयमै बिक्री हुन सकस पर्नु पछाडिको कारण ब्याजदर नै रहेको उनको भनाई छ।

उनका अनुसार ऋणपत्रको बाँडफाँड आजै हुनेछ।

कतिपयले भने सेञ्चुरी कमर्सियल बैंकको व्यवस्थापकीय नेतृत्वको डिलिङ पावर, जनसम्पर्क र उनीहरुप्रतिको विश्वासका कारण पनि तरलताको चरम अभावको बेला समेत बैंकको ऋणपत्र समयमै बिक्री हुन सकेको दाबी गरेका छन्।