काठमाण्डौ । पछिल्लो समय तरलतामा दवाब पर्न थालेको छ। 

बैंकहरुले कर्जा प्रवाहलाई आक्रामक बनाएसँगै तरलतामा दवाब पर्न थालेको हो। 

कर्जा प्रवाहको यो गति तीव्र रुपमा बढ्दै जाने हो भने तरलतामा निकै दवाब पर्न सक्ने देखिन्छ। 

बैंकिंग प्रणालीमा पुस मसान्तसम्म २ खर्ब अधिक तरलता रहेकोमा झन्डै एक महिनाको अन्तरालमा सवा १ खर्बको तरलता बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

पछिल्लो तथ्यांकअनुसार माघ महिनामा मात्रै वाणिज्य बैंकहरुले ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने निक्षेप भने ५ अर्ब रुपैयाँले मात्र बढेको छ। यस अवधिमा बैंकहरुले कुल ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जब कि कुल निक्षेप संकलन ३७ अर्ब ८६ अर्ब रुपैयाँ मात्र छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकहरुको निक्षेप २ खर्ब ९९ रुपैयाँले बढ्दा कर्जा प्रवाह ४ खर्ब १४ अर्ब रुपैयाँले बढेको छ। बैंकहरुको कर्जा प्रवाह ११।४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ। 

कोरोनाकालमा शिथिल देखिएका बैंकहरुले पछिल्लो समय कर्जा प्रवाहलाई आक्रामक बनाएका छन्। ब्याजदर घट्दा बैंकहरुको निक्षेप भने केही सुस्त देखिएको छ। 

लगानीको माग बढ्दै जानु, सोअनुसार आपूर्ति हुन नसक्नु, सरकारको राजस्व बढ्नु तर खर्च हुन नसक्नुजस्ता कारणले तरलतामा दबाब हुने गरेको विज्ञहरु बताउँछन्। 


पूर्वबैंकर तथा विश्लेषक अनलराज भट्टराई तरलतामा दवाब बढ्दै गए पनि तत्काल ब्याजदर बढ्ने सम्भावना भने नरहेको बताउँछन्। ‘तरलतामा आएको कमीले डराइहाल्नुपर्ने अवस्था छैन’, उनले भने, ‘सरकारको पुँजीगत खर्च बढेमा र बैंकहरुको निक्षेप संकलन बढेमा ब्याजदर बढ्नसक्छ तर अहिले तत्काल ब्याजदर बढिहाल्ने अवस्था छैन।’

गरिमा विकास बैंकका सीईओ गोविन्द ढकाल पनि तत्काल ब्याजदर बढ्ने सम्भावना नदेखिएको बताउँछन्। ‘अहिले बैंकहरुबाट होटेल, कृषि र घरजग्गामा व्यापक रुपमा नयाँ कर्जासँगै पुराना व्यवसायीहरुलाई थप कर्जा परिचालन भइरहेको छ’, उनले भने, ‘त्यसैले तरलता कम हुँदै गएको देखिन्छ। तर यो आर्थिक वर्षमै ब्याजदर बढ्ने सम्भावना छैन।’

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोरोनाबाट प्रभावित अर्थतन्त्र अहिले चलायमान भएकोले पनि बैंकहरुबाट कर्जा प्रवाह तीव्र बनेको बताए। ‘तलरतामा दवाब त परेको छ’, उनले भने, ‘तरलता अभाव भएपछि ब्याजदर पनि बढ्छ तर अहिले नै कतिसम्म बढ्छ भनेर भनिहाल्ने अवस्था छैन।’