– अर्जुन तिमिल्सिना

काठमाण्डौ। कोरोना कहरबीच बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) मा व्यापक दबाब परेको छ। 

बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँभन्दा कम रकम भएपछि तरलतामा दबाब पर्न थाल्छ। तर अहिले बैंकिङ प्रणालीमा २६ अर्ब रुपैयाँ मात्र रहेकोले तरलतामा व्यापक दबाब रहेको प्रस्ट हुन्छ। 

बैंक तथा वित्तीय संस्थाहरुको सीडी रेसियो हाल ८० प्रतिशतसम्म पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसले पनि प्रणालीमा तरलता टाइट बन्दै गएको देखिन्छ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले तरलतामा दबाब पर्न थालेको स्वीकारे। ‘अझ केही दिनअघि प्रणालीमा १४ अर्ब रुपैयाँमात्रै थियो, आज बढेर २६ अर्ब पुगेको छ’, उनले भने, ‘यसको मतलब तरलता दबाब परेको छ तर विस्तार सहज पनि हुँदै गएको छ।’

ढकालले कोरोनाबाट उत्पन्न परिस्थितिका कारण ग्राहकले धमाधम बैंकहरुबाट पैसा निकाल्न थालेपछि तरलतामा दबाब सिर्जना भएको बताए। ‘एकैदिन ५ अर्ब रुपैयाँसम्म ग्राहकले बैंकबाट निकालेको देखिएको छ’, उनले भने। 

अर्कोतर्फ बैंकहरुले कर बुझाउँदा पनि तरलतामा केही दबाब परेको देखिन्छ। ‘तर विस्तार प्रणालीमा रकम जम्मा हुन थालेको अवस्था सहज हुँदै जानेछ’, उनले भने।

त्यस्तै सरकारको पुँजीगत खर्च र पुनरकर्जाको रकम पनि प्रणाली आउन थालेको तरलता सहज हुने ढकालको तर्क छ। ‘हालसम्म १४६ अर्ब पुनरकर्जाको रकम स्वीकृति भएको छ’, उनले भने, ‘त्यसमध्ये १२८ अर्ब बैंकहरुले लगिसकेका छन्, अझै १८ अर्ब रुपैयाँ बैंकहरुले लैजाने तयारी गरिरहेका छन्।’

अहिले तरलतामा दबाब देखिए पनि तत्काल बैंकहरुको ब्याजदरमा भने फेरबदल हुने अवस्था नरहेको ढकालले बताए।

ढकालका अनुसार हालसम्म बैंकहरुले ४० खर्ब ५५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन् भने ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।