काठमाण्डौ । निषेधाज्ञाका कारण व्यापार–व्यवसाय प्रभावित हुँदा बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम (तरलता) मा व्यापक दबाब सिर्जना भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ तरलता रहेको छ। प्रणालीमा ५० अर्ब रुपैयाँभन्दा कम हुनु भनेको तरलतामा दबाब पर्न थाल्नु हो। यो हिसाबले अहिले तरलतामा व्यापक दबाब परिरहेको प्रस्ट हुन्छ। 

हाल प्रणालीमा रहेको २७ अर्ब रुपैयाँमा पनि २० अर्ब रुपैयाँ एक साताका लागि राष्ट्र बैंकबाट लगिएको पाइएको छ। ‘यो घटाउँदा बैंक तथा वित्तीय संस्थासँग जम्मा ७ अर्ब रुपैयाँमात्रै लगानीयोग्य रकम देखिन्छ’, राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने। 

ढकालका अनुसार सीडी रेसियो पनि विस्तारै टाइट हुँदै गएकोे छ। हाल सीडी रेसिया ७९.४९ रहेको ढकालले जानकारी दिए।

बैंक तथा वित्तीय संस्थाहरुले असार महिनाका लागि सार्वजनिक गरेको ब्याज दर पनि केही बढेको देखिएको छ। ‘अब जनजीवन पनि सामान्य हुँदै जाने भएकोले तरलतामा थप दबाब पर्न सक्छ’, ढकालले भने, ‘उक्त दबाबलाई सरकारी खर्चले केही हदसम्म धान्न सक्छ।’ 

हाल अन्तरबैंकिङ ब्याज दरमा पनि भारी वृद्धि भएको देखिएको छ। केही समयअघि १ प्रतिशतभन्दा तल रहेको अन्तरबैंकिङ ब्याज दर अहिले बढेर ४.७९ प्रतिशत पुगेको छ। ‘यसले पनि बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था कस्तो छ भने प्रस्ट हुन्छ’, ढकालले भने। 

चालु आर्थिक वर्षको अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले कुल ४५ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४० खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। 

प्रवक्ता ढकालले पुनरकर्जातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ स्वीकृत भएको जानकारी दिए। ‘जसमा १ खर्ब ३५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुले लगिसकेका छन्’, उनले भने।